ओखलढुंगामा २४ घण्टामा ८९.६ मिलीमिटर बर्षा !

ओखलढुंगामा २४ घण्टामा ८९.६ मिलीमिटर बर्षा !


भिजन समाचार
4.7k
Shares

पछिल्लो २४ घण्टामा ओखलढुंगामा ८९.६ मिलीमिटर बर्षा भएको छ । जल तथा मौसम विज्ञान फिल्ड ओखलढुंगाका अनुसार जिल्लामा सबैभन्दा धेरै मानेभन्ज्याङमा बर्षा भएको हो ।

मानेभञ्ज्याङको बर्षा मापन केन्द्रमा रेकर्ड भएको विवरण अनुसार पछिल्लो २४ घन्टामा ८९.६ मिलीमिटर बर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड ओखलढुंगाका प्रमुख अनिल पराजुलीले जानकारी दिए । उनका अनुसार मानेभन्ज्याङमा पछिल्लो एक घन्टामा नै २.६ मिलीमिटर बर्षा भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ओखलढुंगा सदरमुकाम क्षेत्रमा ६७.२ मिलीमिटर बर्षा भएको केन्द्र प्रमुख पराजुलीले जानकारी दिए । उनका अनुसार १ देखि १० मिलीमिटरसम्मको बर्षालाई हल्का बर्षा, १० देखि ५० मि.मि सम्मको बर्षालाई मध्यम, ५० देखि १०० मि.मि सम्मको बर्षालाई भारी बर्षा भन्ने गरिन्छ ।

जिल्लामा मापन भएको पछिल्लो २४ घण्टाको विवरण अनुसार भारी बर्षा भएको हो । पछिल्लो बुलेटिन अनुसार आइतबारसम्म ओखलढुंगा सहित कोशी प्रदेशका जिल्लाहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको केन्द्रले जनाएको छ ।

लगातारको बर्षातले बाढी पहिरोको जोखिम हुनसक्ने भन्दै केन्द्रले जिल्लाका नागरिकमा सतर्क रहन समेत आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा बाढी पहिरोका कुनै घटना नभएको भए पनि सतर्क रहन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पनि सुझाव दिएको छ ।