गडीभुलभुले खानेपानी आयोजना सञ्चालनमा आएसँगै ओखलढुंगाको मोलुङ गाउँपालिका–३ र ५ का २३० घरधुरी लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगा अन्तर्गत सञ्चालित दिगो र समाबेसी, स्वच्छता तथा सरसफाई प्रवद्र्धन (वास) परियोजना र मोलुङ गाउँपालिकाको सह–लगानी तथा समुदायको जनश्रमदानबाट निर्मित आयोजनाको मंगलबार उद्घाटन गरि हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रमका बिच रेडक्रसका केन्द्र तथा जिल्ला पदाधिकारी, मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले आयोजनाको उद्घाटन गर्दै उपभोक्ता समितिलाई हस्तान्तरण गरेका छन् ।
उद्घाटन एवम् हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले आयोजना सञ्चालनमा आएसँगै मोलुङ–३ र ५ का नागरिकलाई सहज भएको बताए । खानेपानीकै लागि स्थानीयले विगतमा भोग्नुपरेको समस्या आयोजनाले अन्त्य भएको उनको भनाई छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले स्वच्छ, स्वस्थ पानी र खानेपानीमा नागरिकको सहज पहुँचका लागि स्थानीय सरकारको एक घर एक धारा नीतिलाई रेडक्रसले सहयोग गर्ने गरी आयोजना सम्पन्न गरेको उल्लेख गरे ।
यस्तै रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले पनि योजनाको दिर्घकालिन रुपमा प्रयोगका लागि संरक्षणतर्फ ध्यान पु¥र्याउन आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटीको ७० लाख सात हजार ८२४ रुपैयाँ, मोलुङ गाउँपालिकाको ३८ लाख ३७ हजार ६३५ रुपैयाँ ८९ पैसा लागत र समुदायको २४ लाख १३ हजार २७६ रुपैयाँ ६९ पैसा बराबरको जनश्रमदान गरि कुल एक करोड ३२ लाख ५८ हजार ७३६ रुपैयाँ ९५ पैसा लागतमा आयोजना सम्पन्न भएको रेडक्रस जिल्ला सभापति नारायण प्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार आयोजना अन्तर्गत पाँच वटा रिजर्भ ट्यांकी, दुई वटा इन्टेक, ३४ हजार ९६१ मिटर लामो पाइपलाइन रहेका छन् । यस्तै आयोजनाबाट २१६ घरधुरी र १४ वटा सार्वजनिक धारा गरि जम्मा २३० वटा धारा निर्माण भएका छन् ।
२०८० कार्तिक १७ गतेबाट सुरु भएको आयोजना २०८१ बैशाख १८ गते सम्पन्न भएको हो । यस अघि खानेपानीको लागि घण्टौँ धाउनुपर्ने बाध्यता रहेकोमा आयोजना सञ्चालनमा आएसँगै त्यस क्षेत्रका नागरिकलाई सहज भएको गडीभुलभुले खानेपानी उपभोक्ता समितिका अध्यक्ष फडिन्द्र प्रसाद फुयालले बताए । घरघरमा स्वच्छ खानेपानीको धारा पुगेपछि त्यहाँका स्थानीय हर्षित भएका छन् ।
प्रतिक्रिया