ककनीमा होमस्टे तालिम सुरु

ककनीमा होमस्टे तालिम सुरु


भिजन समाचार
4k
Shares

ओखलढुंगाको ककनीमा होमस्टे तालिम सुरु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ९ ककनीमा ७ दिने होमस्टे तालिम सुरु भएको हो ।

वडा कार्यालयको समन्वय, घरेलु तथा साना उद्योेग कार्यालय ओखलढुंगाको आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान काठमाडौंको साझेदारीमा शुक्रबारबाट ७ दिने तालिम सुरु भएको छ ।

सुनकोेशी ९ र ककनी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी ककनीमा स्थानीयका लागि  होमस्टे सम्बन्धि तालिम सञ्चालन गरिएको वडा अध्यक्ष हितराज कार्कीले बताए ।

तालिम उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जीतेन्द्र राई तथा प्रशिक्षक विकेश श्रेष्ठ र धर्मराज उप्रेती, वडा अध्यक्ष हितराज कार्कीसहितका जनप्रतिनिधि र सरोकारवाला तथा स्थानीयहरु सहभागी थिए ।

अधिक सम्भावना भएर पनि घरबास सेवा व्यवस्थित बनाउन नसकिरहेका बेला सरकारी तवरबाटै गाउँमा तालिम सञ्चालन गरिनु सुखद् भएको ककनी होमस्टेका सञ्चालक नरबहादुर सुनुवारले बताए । सुनुवारले विगत वर्ष देखिनै ककनीमा होमस्टे सञ्चालन गरेर सेवा दिइरहेका छन् ।

सुनकोशी ९ को ककनीमा होमस्टे सञ्चालनको योजना केही वर्ष अघि नै बनाइएपनि कार्यान्वयमा आउन सकेको थिएन । सुनकोशी ९ का संस्थापक वडाअध्यक्ष झनककुमार कार्कीले तीनछाँगेमा पदमार्ग निर्माण र ककनी क्षेत्रको पर्यटन प्रवद्र्धनसहित ककनीमा होमस्टे सञ्चालनको योजना अघि सारेका थिए । उनको कार्यकालको अन्तिम वर्ष होमस्टे तालिम सञ्चालनका लागि बजेट समेत विनियोजन गरेका थिए ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले अघि सारेको संकल्प वर्तमान जनप्रतिनिधिले पनि निरन्तरता दिएका छन् ।

सुनकाेशी ९ काे ककनी क्षेत्र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएकाे क्षेत्र हाे । स्थानीय उत्पादनकाे अर्गानीक परिकारका स्वादमा रम्न र गाउँले वातावरणमा बसेर मनाेरम दृश्यावलाेकन गरेर रम्न याे क्षेत्र उत्कृष्ट छ ।

माथि चम्पादेवी मन्दिर र तल तीनछाँगे झरना बीचको ककनी गाउँ भर्जिन गन्तव्य हो ।