ओखलढुंगामा ट्राफिक नियम उल्लंघन गर्ने चार हजार ६९७ सवारीलाई कारबाही

ओखलढुंगामा ट्राफिक नियम उल्लंघन गर्ने चार हजार ६९७ सवारीलाई कारबाही


भिजन समाचार
3.1k
Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले सवारी कारबाहीबाट नौं महिनामा ३३ लाख बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ को साउन देखि चैत्र मसान्तसम्म कार्यालयले ३३ लाख ३९ हजार एक सय राजश्व संकलन गरेको हो ।

चार हजार छ सय ९७ वटा सवारीसाधन कारबाहीमा पर्दा उक्त राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका इन्चार्ज प्रहरी नायव निरीक्षक प्रवीण कार्कीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै जिप-कार कारबाहीमा परेका छन् । कार्यालयको तथ्यांक अनुसार नौं महिनामा जिप-कार दुई हजार चार सय ४९ वटा, मोटरसाइकल एक हजार ६१ वटा, ट्रक ६०५, बस २४९, ट्रिपर १७८, ट्याक्टर ९४ वटा र अटो-टेम्पो ५१ वटा कारबाहीमा परेका छन् ।

सबैभन्दा धेरै सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स) नभएर कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै तीव्र गतिमा चलाएको, ब्लु बुक नवीकरण नगरेको, ट्राफिक नियम पालना नगरेको, क्षमता भन्दा बढी यात्रु तथा सामान राखेको, मापसे गरि सवारी चलाएको लगायतका कारणले पनि धेरै मात्रामा सवारीसाधन कारबाहीमा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।