आगलागीबाट ज्यान गुमाएकाको परिवालाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले राहत प्रदान गरेको छ ।
जिल्लाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि सोमबार ५५ वर्षिय पुण्यमाया धमला र वर्ष १६ का छोरा कञ्चन धमलाको ज्यान गएको थियो । जंगलमा आगलागी भएपछि खरबारीमा रहेको खरघाँस जोगाउने क्रममा जलेर उनीहरुको ज्यान गएको थियो ।
आगलागीमा परि श्रीमती र छोरा गुमाएका रेवति धमलाको घरमै पुगेर ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति संयोजक डा.नारायण प्रसाद ढकालले दैवी प्रकोप उद्वार राहत समितिबाट नगद तीन लाख प्रदान गरेका हुन् । पिडाको घडीमा सरकारको तर्फबाट समवेदना र सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको प्रजिअ ढकालले बताए ।
यस्तै सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले अप्रत्यासित घटनाले आफुहरुलाई पनि दुःखित तुल्याएको बताउँदै शोकको अवस्थालाई शक्तिमा बदलेर सम्हालिन परिवारजनमा समवेदना प्रकट गरे । नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई एक लाख सहयोग उपलब्ध गराउने पनि मेयर खनालले प्रतिवद्धता जनाएका छन् ।
यस्तै नेपाली सेनाको दुर्गा बक्स गणका गणपति विजय लिम्बु आङदम्बेले गणको तर्फबाट खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरेका छन् ।
परिवारजनलाई समवेदना प्रकट गर्न प्रमुख जिल्ला अधिकारी ढकाल, सिद्विचरण नगरपालिका मेयर खनाल, दुर्गा बक्स गणका गणपति आङदम्बे, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कृष्ण खड्का, सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेल, अनुसन्धान अधिकृत लगायतका व्यक्ति मृतक परिवारको घरमै पुगेका थिए ।
प्रतिक्रिया