ओखलढुंगामा ४५ वटा मानव अधिकार उल्लङ्घनका घटना

ओखलढुंगामा ४५ वटा मानव अधिकार उल्लङ्घनका घटना


भिजन समाचार
1k
Shares

ओखलढुंगामा ४५ वटा मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ओखलढुंगाले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार जिल्लामा ४५ वटा मानव अधिकार हनन्का घटना घटेका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पुर्व वार्षिक समिक्षा कार्यक्रममा घरेलु हिंसाका २४, बलात्कार १३, बलात्कार प्रयास ७ र हत्याको एउटा घटना भएको ईन्सेक जिल्ला प्रतिनिधी सरस्वती बानियाले बताईन् ।
प्रतिवेदन अनुसार सबै भन्दा बढी सिद्धिचरण नगरपालिकामा १८ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । त्यसै गरि मोलुङ गाउँपालिकामा ९, मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकामा पाँच–पाँच, खिजिदेम्बामा गाउँपालिकामा चार, चिशङ्खुगढी गाउँपालिका तीन साथै चम्पादेवी र लिखु गाउँपालिकामा एक–एक वटा घटना घटेको बानियाले जानकारी दिईन् ।
जिल्लाको ग्रामिण क्षेत्रमा घटेका घरेलु हिंसा, छुवाछुत लगायतका मानव अधिकार हननका घटनाहरु अझै पनि ईन्सेकको प्रतिवेदनमा नसमेटिएको हुन सक्ने सरोकारवालाले बताएका छन् । ग्रामिण क्षेत्रका छुवाछुत, जातिय हिंसा र घरेलु हिंसाका पीडितहरु अहिले पनि प्रहरी, प्रशासन कानुनी निकायको पहुचमा नभएकाले यस प्रति ईन्सेकले चासो दिन आवश्यक रहेको सहभागिहरुको सुझाव छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतमको अध्यक्षता र सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।