ओखलढुंगाको बरुणेश्वर मावि र चीनको बेइजिङ स्थित न्यू ट्यालेन्ट एकेडेमी बीच भगिनी सम्बन्ध कायम गरिएको छ । चीन भ्रमणमा रहेका बरुणेश्वर माविका प्रअ कुलप्रसाद खतिवडाले बेइजिङमा आयोजित एक कार्यक्रमका बीच न्यू ट्यालेन्ट एकेडेमीसँग भगिनी सम्बन्ध कायम गरेका हुन् ।

नेपालको एक उत्कृष्ट सामुदायिक विधालय बरुणेश्वर मावि र बेइजिङको न्यू ट्यालेन्ट एकेडेमी बीच भगिनी सम्बन्ध कायम गरि शिक्षक तालिम,भाषागत विकास,शैक्षिक सामाग्री सहयोग र उच्चशिक्षा अध्ययनमा दोहोरो सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

अन्तराष्ट्रिय स्तरको उत्कृष्ट शिक्षालयसँगको भगिनी सम्बन्ध विस्तारले बरुणेश्वर माविको शैक्षिक विकास र गुणस्तर सुधारमा थप टेवा पुग्ने अपेक्षा गरिएको प्रअ खतिवडाले बताए । खतिवडाले चीनमा आयोजित अन्तराष्ट्रिय स्तरका शैक्षिक सम्मेलनमा भाग लिँदै त्यहाँका नमुना विधालयको शैक्षिक योजना र उपलब्धिको अवलोकन गरिरहेका छन् ।

त्यस्तै चीन भ्रमणकै क्रममा बेइजिङ इनटरनेशनल चाइनिज कलेज र बरुणेश्वर माबि बीच यस अघिनै एमओयुमा हस्ताक्षर भइसकेको छ।

बरुणेश्वर मावि कोशी नेपालका उत्कृष्ट र नेपालको नमुना विधालयमा पर्दछ । एसइइमा प्राप्त नतिजा र सरकारी मुल्याङ्कनमा उत्कृष्ट भएसँगै लगातार छैटौँ पटक सम्म सरकारबाट पुरस्कृत भएको छ ।

प्रतिक्रिया