ओखलढुंगामा यस बर्षको दशैं–तिहार शान्तिपूर्ण भएकाे छ । जिल्लामा यस बर्षको दशैं र तिहारमा छिटफुट बाहेक कुनैपनि अप्रिय घटना नभएका हुन् ।
दशैँ अघि देखि तिहारसम्म चाडपर्व लक्षित विषेश सुरक्षा योजना लागु गरिएको र त्यसको प्रभावकारी कार्यान्वयन भएकाले कुनै अप्रिय घटना तथा दुर्घटना हुन नपाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले बताए ।
उनका अनुसार चाडपर्वलाई लक्षित गरेर प्रहरी गस्ती बढाइएको थियो भने सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको थियो । आमनागरिकको साथ सहयोग र प्रहरीको सक्रियतामा यो बर्षको दशैँ तिहार बेला कुनै अवान्छनीय गतिवधि, चोरी, डकैती, झैझगडा, लुटपाट लगायतका आपराधिक घटनाहरु हुन नपाएको जिल्ला प्रहरी प्रमुख केसीको दाबी छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले पनि सूचना नै जारी गरेर यस बर्षकोे तिहारमा १० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको थियो । प्रशासनको सूचनालाई आम नागरिकले पालना गरेकोले पनि झैझगडा लगायतका घटना नभएको प्रहरीले जनाएको छ ।
यस्तै दशैँ तिहारको अवधिमा कुनै आपराधिक घटना भएको भन्नेबारे कुनै गुनासो उजुरी समेत नआएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया