ओखलढुंगाको रामपुरका आगलागी पीडितलाई रेडक्रसले सहयोग गरेको छ । गत सोमबार साँझ दिपावलीको दियोबाट सल्केर आगलागी हुँदा मोलुङ गाउँपालिका–२ रामपुर, तल्लोटारका ४५ बर्षीय एक बहादुर सार्की र निम बहादुर सार्कीको घरमा क्षति १६ लाख ५० हजार बराबरको क्षति भएको थियो ।
आगलागी पीडित दुवै परिवारको घरमै पुगेर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढंगा सभापति नारायण प्रसाद दाहालले त्रिपाल, कम्बल, कपडा, भाडावर्तन र सरसफाई लगायतका सामाग्री प्रदान गरेका हुन् ।
तिहारको बेला दिपावलीको दियो र झिलीमिली बत्तीका कारण विद्युत सर्ट भएर पनि आगलागीका घटना बढीरहेकाले विशेष सावधानी अपनाउन सभापति दाहालले जिल्लाबासीमा सचेत गराएका छन् ।
रेडक्रसले बाढी पहिरो, रोग महामारी, भूकम्प, आगलागी लगायतका विपदजन्य घटनामा समुदायमा सहयोग, उद्धार र सचेतनाका कार्यक्रम पनि गर्ने गरेको छ ।
रातिको समयमा भएको लागलागीबाट एउटै घरमा आधा–आधा भाग लगाई दुई दाजुभाई बस्ने गरेको इट्टा र सिमेन्टले बनेको टिनको छानो भएको एक तले पक्की घर, घरभित्र रहेका भाडवर्तन, लत्ताकपडा, अन्नपात, एक बहादुरको आठ लाख र निम बहादुरको आठ लाख ५० हजार गरि १६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
आगो इलाका प्रहरी कार्यालय बरुणेश्वरको प्रहरी टोली र स्थानीयको सहयोगमा निभाइएकोले बस्तीमा फैलनबाट जोगाइएको उनको भनाई छ । आगलागीबाट मानविय र पशुचौपायामा भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया