खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ ले जेष्ठ नागरिकलाई भत्तासँगै स्वास्थ्य सेवा दिने भएको छ । बैंक मार्फत सामाजिक सुरक्षा भत्ता निकासा गर्ने नीति भएपनि वडाले बैंकसँग समन्वय गरेर राजापानीमै भत्ता वितरण गर्ने र भत्ता बुझ्न आउने जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण र आँखा जाँच सेवा पनि दिने भएको हो ।
बैंक सम्म भत्ता बुझ्न जान लाभग्राहीलाई समस्या हुने भएकाले गाउँमै असोज २५ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम राखिएको वडाअध्यक्ष अनिश कार्कीले बताए । वडाअध्यक्ष कार्कीका अनुसार सोही दिन जेष्ठ नागरिकको स्वास्थ्य र आँखा जाँच सेवा दिन निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको छ ।
वडाले आवश्यक कागजातसहित भत्ता बुझ्न लाभग्राही र स्वास्थ्य शिविरबाट सेवा लिन वडाबासीलाई आग्रह गरेको छ ।
सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको भन्दै सरकारले बैंक मार्फत भत्ता निकासा गर्ने नीति ल्याएपछि बैंक भन्दा टाढाका लाभग्राहीलाई भत्ता बुझ्न सकस छ । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले बैंकिङ प्रकृया पुरा गर्न नसक्दा बिचौलियाको सहारा लिनुपर्ने अवस्था छ । कतिपय गाउँका जेष्ठ नागरिक सवारी रिजर्भ गरेर बैंकमा भत्ता बुझ्न जाने र सहयोगी समेत राख्नुपर्दा सरकारले दिएको भत्ता निकासा गर्दा नै सकिने अवस्था पनि छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले बैंकसँग समन्वय गरेर गाउँघरमै भत्ता वितरण गर्दा जेष्ठ नागरिकहरु खुसी हुने गरेका छन् ।
वृद्धभत्ता विशेषगरी जेष्ठ नागरिकको औषधी उपचार र घरखर्चको आधार हो । आर्थिक वर्षको पहिलो चौमासिकमा प्राप्तहुने भत्ताले जेष्ठ नागरिकको दशैं खर्च टर्ने गरेको पाइन्छ ।
प्रतिक्रिया