सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई


भिजन समाचार
3.2k
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार कार्की नेतृत्वले थालेको उज्यालो वडा अभियानबारे सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाईमा आयव्यय, आयोजना सञ्चालन गर्दाको चुनौति र सफलताका बारेमा संस्थापक वडा अध्यक्ष कार्की र उपभाेक्ता समितिले प्रस्तुतिकरण दिएका थिए ।

विविध चुनौतिका बाबजुत पनि साविक कटुन्जे २,३ र १,५ का केही घर समेत गरी २१५ घरधुरीमा नमुना विद्युतिकरणको काम गर्न आफुहरु सफल भएको संस्थापक वडा अध्यक्ष कार्कीले बताए ।

२०७४ सालको स्थानिय तह निर्वाचन हुदाँसम्म राष्ट्रिय प्रशारण लाइनले नछोएको अवस्थमा पहिलो चरणमा साविक कटुञ्जे १ र ५ का केहि घरमा विद्युत जडान गर्दा खर्चिलो, झन्झटिलो र प्रभावकारी काम नभएपछि नागरिकलाई विना झन्झट, सहज र प्रभावकारी हुनेगरी विद्युतिकरणको लागी नयाँ तरिकाले विद्युतिकरणको अभियान संचालन गरिएको उनको भनाई थियो ।

विद्युतिकरणबारे बताउँदै उनले उपभोक्तालाई विद्युतिय उपकरण र सामाग्रीबारे पर्याप्त जानकारी नहुने, विद्युतको मिटर ल्याउन उपभोक्ता स्वयं जाँदा झन्झटिलो र खर्चिलो हुने भएकोले एकै पटकमा सुनकोशी ९ नं. वडा कार्यालयको सहजीकरणमा उपभोक्ता समिति गठन गरी स्थानिय र बाहिरका गरी कोटेशन मार्फत १२ फरक सप्लायर्सबाट प्रतिस्पर्धा गराएर न्युन दरमा गुणस्तरिय सामान खरिदको माध्यमबाट एकमुष्टमा सामान खरिद गरिएको बताए ।

स्थानिय बजारको भन्दा सामान गुणस्तरिय र औषत ३० प्रतिशत बढी सस्तोमा उपभोक्तालाई उपलब्ध गराइएको उनले जानकारी गराए ।

विद्युत जडान गर्नको लागि पनि कोटेशन मार्फत प्रति बल्ब जोडेको एक सय रुपैयामा एक वर्षको वारेन्टी सहित सम्झौता गरि कार्य सम्पन्न गरिएको बताउँदैे उक्त वारेन्टी अवधिसम्म उपभोक्ताबाट कुनै प्रकारको समस्या आएको भन्ने गुनासो नआएको संस्थापक वडा अध्यक्ष कार्कीले बताए ।

विद्युत मिटर लिने विद्युत प्राधिकरणको झन्झटिलो प्रकृया भएका कारण स्थानिय युवा सागर उपकारले न्युन शुल्कमा सबै घरधुरीको लागि मिटर उपलब्ध गराउने कार्य गरेका थिए । मिटर जडान प्रकृयामा उपभोक्तालाई व्यहोर्न लगाउदै आएको व्यवस्थापन खर्चमा समेत ९० प्रतिशत माथि कटौती गराइएको थियो ।

समयमै राम्रो काम गराउनको लागि तत्कालिन वडा अध्यक्ष झनक कार्कीको प्रत्यक्ष सहयोग र सहजीकरणमा उपभोक्ता समितीका अध्यक्ष तेजराम खत्री सचिव मोहन तामाङ सहितका समितिका पदाधिकारीहरुले विद्युत लाईन सर्भे देखि विद्युत लाइन विस्तार र बत्ति बाल्ने चरण सम्म अनुगमन, सहयोग गरी गुणस्तर कायम गराइएको र सहुलियतमा बत्ति बाल्ने प्रबन्ध कसरी मिलाइएको थियो भन्नेबारे पनि जानकारी गराइएको थियो ।

विद्युतिकरणका बेला सबै उपभोक्ताले तत्काल पैसा तिरेर बत्ति बाल्ने अवस्था नभएकोले विभिन्न विकल्पको खोजी गरिएको थियो । जसमा गाउँघरमा रहेका विभिन्न सामुदायिक संस्थाहरु र खासगरी सामुदायिक वन समूहको कोष परिचालन गरिएको थियो ।

सामुदायिक वनको रकम लगानी हुने तर असुली नहुने समस्या बढ्दै गएपछि विकासको महत्वपूर्ण पुर्वाधार विद्युतिकरणको लागि करिब छ लाख लगानी गरिएको थियो । योजना व्यवस्थापन र संचालनको लागि वडावाट समेत रकम सहयोग गरिएको थियो ।

यसरी काम गर्दा सानो घर थोरै संख्यामा वत्ति जडान गर्दा २० प्रतिशत घरधुरीले बिना लगानी विद्युत जडान गरेका छन् । अरु उपभोक्ताले पनि  सहुलियत पाएका छन् ।

गाउँमा बसोबास गर्ने घरधुरीमा अघिल्लो वर्ष नै विद्युतिकरण गरेको भएपनि करिब २५ प्रतिशत घरधुरीबाट पैसा नउठेपछि सार्वजनिक सुनुवाई तत्काल हुन सकेको थिएन ।

सार्वजनिक सुनुवाईको समग्र विषयको छलफल र समिक्षा पछि पैसा दिन बाँकी घरधुरीले १ हप्ता भित्र पैसा बुझाईसक्ने, फिर्ता पाउन घरधुरीलाई १० दिन भित्र पैसा उठाएर फिर्ता गर्ने र खरिद भएका मध्ये बाँकी रहेका समान एकमुष्ट विक्रि गर्ने प्रतिवद्धता र सहमती भएको छ । करिब २५ लाखको कारोबार भएको हिसाबको विस्तृत विवरण प्रस्तुति र पारित गरिएको छ ।

यसरी स्रोतको परिचालन गरी कम शुल्कमा सहज रुपमा काम गरेको अभियान देशकै नमुना र अनुसरण योग्य हुन सक्ने सार्वजनिक सुनुवाईको निश्कर्ष थियो ।

हाल मागको तुलनामा वडामा कम बजेट आउने गरेकोले ठुला काम गर्न कठिन रहेको तर विगतमा थालेका कामको सफलताको लागि आफुले सक्दो सहयोग र सहजीकरण गर्ने वडा अध्यक्ष हितराज कार्कीले प्रतिवद्धता जनाएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष कार्कीले  सार्वाजनिक सुनुवाईमा भएका सहमती र प्रतिवद्धता पालना गर्न सबै सरोकारवालामा आग्रह समेत गरेका थिए ।

विद्युतिकरणको समयमा विभिन्न चुनौतिका बाबजुत रातदिन खटेर काम गरेको र विद्युतिकरण पछि सबैको घर उज्यालो हुँदा आफुहरु हर्षित भएको उपभोक्ता समितिका अध्यक्ष तेजराम खत्रीले बताए ।

कार्यक्रमको आम्दानी, खर्च र प्रगति विवरण समितिका सचिव मोहन तामाङ्गले प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मैया सुनुवार सहित स्थानीय उपभोक्ता, जेष्ठ नागरिक र सरोकारवालाहरुको सहभागिता थियो ।

उज्यालो वडा बनाउन गरिएको अर्को प्रयास अन्तरगत दुर्गम र विकट मानिने ककनीमा यस अघि नै छ करोड माथिको लागतमा १९० बढी घरमा सौर्य मिनिग्रिड मार्फत विद्युतिकरण योजना सम्पन्न भई संचालनमा आए सँगै उज्यालो वडा निर्माण अभियान सफल भएको संस्थापक वडा अध्यक्ष कार्कीको भनाई छ ।

विद्युतिकरणको लागि सुनकोशी गाउँपालिका र विद्युत प्राधिकरणको पनि विषेश भूमिका रहेको उनले बताएका छन् ।