ओखलढुंगामा कर संकलनदरमा वृद्धि भएको छ । करदाता सेवा कार्यालय ओखलढुंगाले आर्थिक बर्ष २०७८-७९ को तुलनामा आव २०७९-८० मा तीन करोड बढी राजश्व संकलन गरेको हो ।
कार्यालयले आव २०७९-८० मा ३२ करोड २९ लाख ६६ हजार राजश्व संकलन गरेको छ । यसअघि आव २०७८-७९ मा २९ करोड ४२ लाख १६ हजार मात्रै राजश्व उठेको थियो ।
आ.व. २०७९-८० सबैभन्दा बढी आयकर वापत २० करोड ५६ लाख ३६ हजार, मूल्यअभिबृद्धी कर वापत १० करोड छ लाख ९७ हजार, घर बहाल कर वापत एक करोड १५ लाख ५१ हजार संकलन भएको छ ।
यस्तै अन्तशुल्क वापत २६ लाख ४४ हजार, ब्याज कर २४ लाख ३७ हजार र सबैभन्दा कम शिक्षा सेवा कर वापत दुई हजार मात्रै राजश्व संकलन भएको करदाता सेवा कार्यालय ओखलढुंगाका निमित्त प्रमुख नेत्रप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।
आव २०७९-०८० मा ३४ करोड ७३ लाख ८२ हजार संकलन गर्ने लक्ष राखेकोमा लक्ष्य केहि कम ९२.९७ प्रतिशत राजश्व संकलन भएको उनको भनाई छ । व्यवसाय गर्न छोड्ने, कर कार्यालय लाहानमै गएर राजश्व बुझाउने र व्यवसायमा घाटा हुने जस्ता कारणले लक्ष भन्दा केहि कम राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयबाट आर्थिक बर्ष आव २०७९-८० मा नौं हजार पाँच सय ४६ व्यवसायिक पान दर्ता, पाँच हजार २० व्यक्तिगत पान दर्ता, मु.अ कर दर्ता पाँच सय ८९, अन्तः शुल्क दर्ता दुई सय ९८ टि.डि.एस पान दर्ता दुई सय ५१ दर्ता भएको छ ।
कार्यालयबाट हाल स्थानी लेखा नम्बर दर्ता नविकरण, अन्तःशुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान हुँदै आएको छ ।
कार्यालयले ओखलढुंगा र सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका बाहेकका सबै पालिकालाई सेवा दिने गरेको छ ।
प्रतिक्रिया