ओखलढुंगामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाभर तथा जिल्ला बाहिरका सबै सडकमा चल्ने यातायातका साधनको भाडादर कायम गरेको हो ।
मंगलबार प्रमुख जिल्ला अधिरकारी प्रदर्शनी कुमारीको अध्यक्षतामा बसेको स्थानीय यातायात व्यवस्थापन समितिको बैठकले नयाँ भाडादर कायम गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले २०८० असार २३ गतेको निर्णयानुसार जिल्लामा पनि नयाँ भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार सार्वजनिक यातायातका साधनहरु बस, मिनिबस, माइक्रोबसको लागि पहाडी बाटो (पक्की तथा ग्राभेल सडकमा) प्रति व्यक्ति प्रति किलोमिटर चार रुपैयाँ ५५ पैसा हुने गरि तोकिएको छ ।
यस्तै ‘ज’ वर्गका जीप प्रकृतिका सवारी साधनको लागि पहाडी क्षेत्रमा (पक्की तथा ग्राभेल सडकमा) प्रति व्यक्ति प्रति किलोमिटर छ रुपैयाका दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी कुमारीले बताइन् ।
तोकिए अनुसार हुन आउने भाडा दर अनिवार्य रुपमा कार्यान्वयन गर्न गराउन आग्रह गर्दै उनले तोकिएको भन्दा बढी भाडा लिने, यात्रु टिकट जारी नगर्ने, सार्वजनिक यातायात आचार संहिताको पालना नगर्ने, सहुलियत व्यवस्थाको पूर्ण पालना नगर्ने सवारी तथा चालकलाई कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिइन् ।
नयाँ भाडादरको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन तथा निरीक्षक गरिने प्रजिअ कुमारीको भनाई छ ।
बैठकले तिनपाङ्ग्रे सवारी साधनहरुलाई व्यवस्थित बनाउन यातायात व्यवस्था कार्यालयमा तत्काल पञ्जीकृत भई सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
तिनपाङ्ग्रे सवारी साधनहरुलाई जिल्ला भित्रका पक्की सडकमा मात्र सम्बन्धित नगरपालिका तथा गाँउपालिकाको सिफारिसको आधारमा आवश्यक प्रकृया पुरा गरि रुट इजाजत उपलब्ध हुने बताइएको छ ।
यस्तै तिनपाङ्ग्रे सवारी साधन (अटो रिक्सा) को भाडादर निर्धारण सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय र यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी सम्बन्धित पालिकाले भाडा निर्धारण गरि स्थानिय यातायात व्यवस्थापन समिति समक्ष पेश गर्नुपर्ने प्रशासनले जनाएको छ ।
नयाँ भाडादर अनुसार ओखलढुंगा देखि काठमाण्डौसम्म सार्वजनिक यातायातका साधनहरु बस, मिनिबस, माइक्रोबसको भाडा एक हजार एक रुपैया र जीप प्रकृतिका सवारी साधनका लागि एक हजार तीन सय २० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
प्रतिक्रिया