उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले एक वर्षमा २३० मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आइतबार आर्थिक बर्ष २०७९-८० मा गरेको मुद्धा फछ्र्यौटको विवरण सार्वजनिक गरेको हो ।
न्यायाधीश शकुन्तला घिमिरेको अध्यक्षतामा भएको बार बेन्च तथा सञ्चारकर्मी सँगको अन्तरक्रिया कार्यक्रममा अदालतका रजिष्ट्रार सञ्जिव पोखरेलले मुद्धा फछ्र्यौटको बार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए ।
आव २०७९-८० मा २८६ नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा २६४ मुद्धा दर्ता भएका थिए । अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेका ८५ र नयाँ दर्ता भएका २६४ गरि जम्मा ३४९ मध्ये २३० मुद्धा फछ्र्यौट भएको रजिष्ट्रार पोखरेलले बताए ।
जुन लक्ष अनुसार ९५.०४ प्रतिशत हो । अदालतले आव २०७९-८० मा २४२ मुद्धा फछ्र्यौट गर्ने लक्ष राखेको थियो । रजिष्ट्रार पोखरेलका अनुसार आव २०७९-८० मा दर्ता भएका मध्ये ११९ वटा मुद्धा फछ्र्यौट हुन बाँकी रहेको छ । बाँकी रहेका मुद्धा पनि एक बर्षभित्रका रहेका छन् ।
नयाँ आर्थिक बर्ष २०८०-८१ मा अदालतले ३२० मुद्धा दर्ता हुने अनुमान गरेको छ । जसमा २८७ मुद्धा फछ्र्यौट गर्ने लक्ष राखिएको रजिष्ट्रार पोखरेलले बताएका छन् ।
अदालतको तथ्यांक अनुसार आव २०७९-८० मा दर्ता भएका मुद्धामध्ये अधिकांस यौनजन्य घटनाका रहेका छन् । जसमा जबरजस्ती करणी ५८, जबरजस्ती करणी उद्योगका ३६, बालयौन दुरुपयोगका १२ र अपाकृतिक मैथुनको एउटा मुद्धा दर्ता भएको अदालतले जनाएको छ ।
प्रतिक्रिया