ओखलढुंगामा पहिरोको जोखिम बढ्दो : सरकारी निकायमा न तथ्याङ्क, न तयारी

ओखलढुंगामा पहिरोको जोखिम बढ्दो : सरकारी निकायमा न तथ्याङ्क, न तयारी

एक अर्काे निकायकाे भर पर्दा विपद् जोखिम न्यूनिकरणमा पर्याप्त पूर्वतयारी हुन सकेन



ओखलढुंगा । भू–क्षय र जलजन्य प्रकोपका दृष्टिकोणले प्रदेशकै जोखिम युक्त जिल्ला ओखलढुंगामा मनसुन सुरु भएसँगै पहिरोको जोखिम बढेको छ । केहिदिन यता मनसुन सकृय भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको हो ।

असार ७ गते राती परेको वर्षाका कारण गएको पहिरोमा पुरिएर विलन्दुमा एकै परिवारको चार जनाको मृत्यु भयो । चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षिय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उनकी २९ वर्षिय श्रीमती शिवमाया गुरुङ, १० वर्षिय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो ।

गाउँ भन्दा माथिबाट आएको पहिरोका कारण अन्य दश घर उच्च जोखिममा परेका छन् । विलन्दुको गुरुङगाउँका ३४ जना पहिरोबाट विस्थापित भएका छन् । उनिहरुलाई नजिकै रहेको एक विद्यालयमा स्थान्तरण गरिएको छ ।

२०७२ सालको भूकम्पका कारण गाउँ भन्दा माथिको भू–भाग चर्किएको र सोही धाँजा फाटेको ठाउँबाट पहिरो झरेर जनधनको क्षति गरेको छ । उक्त गाउँ विगत देखिनै पहिरोको उच्च जोखिममा रहेको भनिएको थियो ।

भूकम्पपछि करिब ७ वर्षअघि गरिएको एक सर्भेक्षण अनुसार ओखलढुंगामा १ सय ४६ वटा मानव वस्ती पहिरोको जोखिममा थिए । तत्कालिन जिल्ला भू–संरक्षण कार्यालय ओखलढुंगाले गरेको सर्वेक्षणमा ठूला साना गरेर १ सय ४६ पहिरोका कारण जिल्लाभर पहिरोको जोखिम रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । विभिन्न अध्ययनहरुले ओखलढुंगा जलजन्य प्रकोप र भू–क्षयका दृष्टिकोणले जोखिममा रहेको देखाएका छन् ।

वर्षेनी जिल्लामा बाढी पहिरोबाट जनधनको क्षति हुँदै आएको छ ।

ओखलढुंगाको विलन्दु, वर्णालु, विगुटार र सल्लेरी बाढी पहिरोको जोखिममा छन् ।   गाम्नाङ्गटार, पोकली, रगनी, खिजीचण्डेश्वरी, खिजीकातीको लम्चेर, माम्खा, हर्कपुर, प्राप्चा केउरेनी, मूलखर्क, यसम, कालीका, विलन्दु, पोकली, खिजीफलाटे, खिजीचण्डेश्वरी, बाक्सा, च्यानम, फेदीगुठलगायतका क्षेत्र पहिरोको जोखिममा रहेको जिल्ला विपद् प्रतिकार्य योजनाको प्रतिवेदनमा समेत उल्लेख छ ।

कमजोर भूसंरचना, भिरालो जमिन, नाङ्गा पहाड, जथाभावी खनिएका सडकका कारणले बाढी पहिरोको उच्च जोखिम बढेको छ । कतिपय स्थानमा पहिरोको कारण वस्ती नै स्थानान्तरण गर्नु पर्ने अवस्था आएको छ । भूकम्पपछि भुगर्वविद्सहितको टोलिले अनुगमन गरेर जिल्लाका दर्जर्नौ बस्ति पहिरोको उच्च जोखिममा रहेको निचोडसहित स्थानान्तरण गर्न सुझाव दिएका थिए । तर त्यस्ता कुनै बस्ति स्थानान्तरण गरिएको छैन ।

प्राकृतिक प्रकोपको जोखिम बढे पनि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम, बजेट भने स्थानीय सरकारले व्यवस्था गर्न सकेका छैनन् । स्थानीय सरकारका नीति तथा कार्यक्रममा विपद् व्यवस्थापन परे पनि बजेटमा भने नपर्ने चौतर्फि गुनासो छ ।

स्थानीय तहले विकासका काम गर्दा विपद् जोखिमको आँकलन नगर्दा जथाभावि खनिएका सडकका कारण पहिरोको जोखिम झन बढेको छ । पहिरोको जोखिमयूक्त बस्तिका सर्वसाधारणहरु त्रासदि अवस्थामा बसिरहेका छन् । बसिरहेको ठाउँ जोखिममा छ भन्ने थाहा भएपनि तत्काल घरगाउँ छोडेर अन्यन्त्र जानेठाँउ नभएकाले जोखिम मोलेर बस्न स्थानीय बाध्य हुनुपरेको प्राप्चाका टोलहरी पोख्रेलको भनाई छ । विकल्प नहुँदा पुस्तौँ पुस्ता अगाडि देखि बस्दै आएको ठाँउ छाड्न धेरैले नसकेको उनले बताए ।

मोलुङ गाउँपालिका ३ को वडा कार्यालय नै केही दिन अघि पहिरोले पुरिएको छ ।

न तथ्याङ्क, न तयारी

विगतमा जिल्लामा जोखिम युक्त क्षेत्र आँकलन गरेर तथ्याङ्क बनाइ विपद् जोखिम न्यूनिकरणको तयारी गरिन्थ्यो । अहिले जिल्लाका सरकारी कार्यालयमा विपद् जोखिमको सम्भावित तथ्याङ्क र जोखिम न्यूनिकरणको पूर्व तयारी नभएको पाइएको छ ।

विगतमा कार्यालयले अध्ययन गरेर यकिन तथ्याङ्क निकाल्ने गरिएपनि अहिले त्यो जिम्मेवारी स्थानिय तहको भएकाले कार्यालयमा विवरण नरहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय ओखलढुंगाका प्रमुख टोपबहादुर श्रेष्ठको बताए । यद्यपि स्थानीय तहसँग समन्वय गरेर तथ्याङ्क लिने र पहिरो नियन्त्रणको काम गरिने उनको भनाई छ । पर्याप्त बजेट नभएकाले ठुला पहिरो नियन्त्रणको काम अपेक्षीत हुन नसकेको उनको भनाई छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय ओखलढुंगाको कार्यक्षेत्र सोलुखुम्बु, खोटाङ र ओखलढुंगा तीन जिल्ला पर्दछन् ।

प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले पनि जिल्लामा विपद् जोखिमको यकिन तथ्याङ्क नरहेको बताउनुभयो । जिल्लामा विपद प्रतिकार्य योजना रहेकाले सोही अनुसार काम हुने र विपद्मा परेकालाई राहत तथा उद्दारका काम गरिने उनको भनाई छ । ‘अहिले हामीसँग यो यो ठाउँ जोखिममा भन्ने विवरण त छैन । पहाडी जिल्ला जहाँपनि पहिरो जानसक्छ । सबैठाउँमा सतर्कता अपनाउनुपर्छ ।’ उनले भनिन्, ‘चम्पादेवीमा ४ जनाको मृत्युभयो । अरु स्थानीय विस्थापित हुनुभएको छ । त्यस्ता पहिरो प्रभावित भएकाहरुको विवरण केन्द्रमा पठाएर राहतका लागि पहल गरेका छौं । हामीले दिनमिल्ने केही बजेट राहतस्वरुप उपलब्ध गराएका छौं ।’ विपद् जोखिम न्यूनिकरणका लागि एउटा कुनै निकायको मात्रै भन्दापनि सबै पक्षको भूमिका महत्वपूर्ण हुने प्रजिअ कुमारीको भनाई छ ।

विगतमा जोखिमयूक्त बस्तिका सर्वसाधारणलाई संयूक्त शिविर निर्माण गरेर सुरक्षित स्थानमा सार्नेलगायतका प्रयास गरिएका थिए । यसवर्ष पर्याप्त पूर्वतयारी गरिएको छैन ।

जिल्ला स्थित कार्यालयले स्थानीय तह र स्थानीय तहले जिल्ला स्थित कार्यालयको भर पर्दा विपद् जोखिम न्यूनिकरणका हिसाबले पर्याप्त पूर्वतयारी हुनसकेको छैन ।