ओखलढुंगामा सुकुम्बासीलाई निस्सा वितरण सुरु

ओखलढुंगामा सुकुम्बासीलाई निस्सा वितरण सुरु


भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगाका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा दिन थालिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुंगाले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गर्न थालेको हो ।

जिल्लामै पहिलो पटक सुनकोशी गाउँपालिका वडा नम्बर १ का राजु लुईटेल र बिनोद मगर, वडा नम्बर ४ की बेलमाया राई, ९ का बल बहादुर मोक्तान र १० की डेक कुमारी घिमिरेले निस्सा पाएका छन् । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ र जिल्ला भूमि आयोगका अध्यक्ष पुरुषोत्तम लुइटेलले सुुकुम्बासीलाई निस्सा हस्तान्तरण गरेका छन् ।

जिल्लाका ८ वटा स्थानीय तहमध्ये सुनकोशी गाउँपालिकाबाट भूमिहीन र सुकुम्वासीलाई निस्सा वितरण सुरु गरिएकोे आयोगका जिल्ला अध्यक्ष पुरुषोत्तम लुईटेलले बताए । विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने अध्यष लुईटेलको भनाई छ ।

निस्सा वितरण गर्दै गाउँपालिका अध्यक्ष तामाङले लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए ।  लालपुर्जा प्राप्तीका लागि स्थानीय तहले आवश्यक सहजीकरण गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न सरकार लागि परेको बताइन् ।  जिल्लामा यकिन विवरण तयार गरेर निष्पक्ष भएर कोही नछुटेने गरी आयोगले काम गर्नुपर्ने उनको भनाई छ ।

निस्सा प्राप्त गरकाले अब लालपुर्जा पाउने आशा गरेका छन् ।

निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने आयोगले जनाएको छ ।

जिल्लामा एक सय भन्दा बढीको संख्यामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेको आयोगको तथ्याङ्क छ ।