कटुञ्जे माविले ‘बुक फ्रि गुड फ्राइडे’ अभियान थाल्याे

कटुञ्जे माविले ‘बुक फ्रि गुड फ्राइडे’ अभियान थाल्याे

विद्यार्थीलाई जीवनाेपयाेगी सीप सिकाउने लक्ष्य


भिजन समाचार
16.4k
Shares

ओखलढुंगा । ओखलढुंगाको कटुञ्जे माविले ‘बुक फ्रि गुड फ्राइडे’ अभियान थालेको छ । विगतमा शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको कटुञ्जे माविले विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउने लक्ष्यका साथ ‘बुक फ्रि गुड फ्राइडे’ अभियान थालेको हो ।

विगतमा सञ्चालन गर्दै आएको शुक्रबारको अतिरिक्त क्रियाकलापलाई थप व्यवस्थित बनाउन थालिएको छ । शुक्रवार ६ वटामा विद्यामा विद्यार्थीले व्यक्तिगत तथा समुहगत २६ प्रस्तुति दिएका थिए । तामाङ, नेवारी, गुरुङ, सुनुवार, शेर्पा, नेपाली लोक गीत तथा नाचसहितका विद्यामा कविता, नाटक, ट्र्याकमा गायन, टेप नृत्य गर्न गराईएको प्रअ ओम पराजुलीले बताए । नेपाल सांस्कृतिक विविधताको देश भएकाले विद्यार्थी मार्फत स्थानीय संस्कृतिको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले विद्यालयमा विशेष कार्यक्रम राखिएको प्रअ पराजुलीको भनाई छ । आगामी शुक्रबारहरुमा योजनावद्ध कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

सैद्धान्तिक सँगै व्यवहारिक अभ्यासले सिकाई सहजीकरणमा सहज र प्रभावकारी हुने शिक्षक कृष्ण ्रसाद पुडासैनीले बताए । सृजनात्मक, रचनात्मक गतिविधिलाई शिक्षक विद्यार्थीहरुको सहभागीतामा संचालन गरिएको र आगामी दिनमा यसले निरन्तरता पाउने उनको भनाई छ ।

साताका अरुबार पाठ्यक्रमले निर्धारण गरेका विषयहरुमा नियमित पठनपाठन गराउने र शुक्रबार किताबी ज्ञान बाहेकका उपयोगी सीप सिकाउने कार्यक्रम सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनककुमार कार्कीले बताए । विद्यार्थीको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्ने र चौतर्फि विकासका लागि सीप मुलक तालिम कार्यक्रमसमेत सञ्चालन गरिने उनको भनाई छ । ‘विद्यार्थीलाई कितावको सैद्धान्तिक शिक्षणसँगै तनावरहित स्वतस्फुर्त व्यवहारिक, सिपयुक्त जनशक्ति उत्पादन गरी आत्मनिर्भर बनाउन आवश्यक छ । जसको लागि हरेक शुक्रबार कितावको सैद्धान्तिक पढाईको सट्टा व्यवहारिक अभ्यास र क्रियाकलाप सञ्चालन गरी विगतमा सञ्चालन गर्दै आएको साप्ताहिक कार्यक्रमलाई थप परिस्कृत गर्दै कटुञ्जे मावि ‘बुक फ्री गुड फ्राइडे’ अभियान सुरु गरिएको हो ।’ अध्यक्ष कार्कीले भिजनसँग भने, ‘यो अभियान विद्यार्थीको वृद्धि विकास र जीवनोपयोगी सीपसँग केन्द्रीत हुनेछ । कटुञ्जे माविको मात्रै होइन यो दुर्गम जिल्लाका सामुदायिक विद्यालयको हकमै नयाँ अभ्यास हुनसक्छ ।’ व्यवस्थापकिय पक्षमा विव्यसले योजना तर्जुमा गरेर कार्यान्वयन गरेका शिक्षण सिकाइ केन्द्रीत योजना कार्यान्वनमा शिक्षक, विद्यार्थी र अभिभावक तथा शैक्षिक सरोकारवालको भुमिका महत्वपूर्ण हुने विव्यस अध्यक्ष कार्कीको भनाई छ । उनले सबै शिक्षक र विद्यार्थीको फरक–फरक क्षमता हुनेभएकोले सृजनात्मक भएर काम गर्नुपर्ने जसको लागि अनुकुल वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘बुक फ्रि गुड फ्राइडे’ अभियानको पहिलो दिन आयोजित कार्यक्रमका प्रमुख अतिथी सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले विद्यालयले आयोजना गरेको कार्यक्रम उपलब्धिमुलक, विद्यार्थीहरुको प्रस्तुती सृजनात्मक देखिएको बताए । सिपयुक्त जनशक्ति अहिलेको आवश्यकता रहेकाले कटुञ्जे माविले थालेको अभियानले सार्थकता पाउने अध्यक्ष तामाङको भनाई थियो ।

बालबालिकाको अन्तरनिहित क्षमताको प्रस्फुटन हुने विभिन्न विद्याका अतिरिक्त क्रियाकलाप संचालन गर्ने, सैद्धान्तिक शिक्षालाई व्यवहारिक रूपमा प्रयोग गरी सिकाईलाई सहज र प्रभावकारी बनाउने, हरेक शुक्रबार फरक विधाका गतिविधी संचालन गर्ने, सिकाइमा शिक्षक, विद्यार्थीको सहभागीता अभिवृद्धि गर्ने र घरायसी, दैनिक क्रियाकलापको व्यवहारिक अभ्यास गराउँदै ‘बुक फ्रि गुड फ्राइडे’ अभियान चलाईने कटुञ्जे माविले जनाएको छ ।

संस्थापक वडाअध्यक्षको नेतृत्वमा विव्यस गठनपछि विद्यालयको सुधारका नयाँ योजना अघि बढेका छन् । यसवर्षबाट कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ । गाउँकै सामुदायिक विद्यालयमा अंग्रजी पढाइहुन थालेपछि गुणस्तरीय शिक्षाकै खोजीमा सदरमुकाम र शहर केन्द्रित बसाइसराइ गरी निजी स्कूलमा छोराछोरी पढाउनुपर्ने स्थानीयको बाध्यता हटेको छ ।

बालमैत्री र व्यवहारिक तथा प्रभावकारी सिकाईको लागि २ जना शिक्षकलाई मन्टेश्वरी विधिको शिक्षण सिकाई सम्बन्धी व्यवहारिक तालिम दिई विद्यालयमा बालमैत्री एवम् मन्टेश्वरी विधि बाट शिक्षण सुरु गरिएको छ । बालमैत्री शिक्षणका लागि शैक्षिक सामग्रीले कक्षा कोठा सजावट गर्दा बालबालिकालाई सिकाई प्रभावकारी भएको छ ।

आधुनिक र प्रविधिमैत्री शिक्षण सिकाइको लागि डिजिटल स्मार्ट प्यानलबोर्डको प्रयोग गर्न थालिएको छ ।

स्टाफ नर्स मार्फत प्राथमिक उपचार, स्वास्थ्य शिक्षा, पोषणबारे सैद्धान्तिक एंव व्यवहारिक अभ्यास गराउने गरिएको छ ।

केही महिना अघि कटुञ्जे माविको शैक्षिक विकासमा सरोकार राख्ने पूर्व विद्यार्थी, कटुन्जे घर भई काठमाडौंमा बसोबास गर्ने सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको थियो । विभिन्न निकायहरुमा योजना पेश गरेर कटुञ्जे माविको पूर्वाधार विकास शैक्षिक सुधारको लागि थप योजना प्रकृया अगाडी बढाइएको विद्यालयले जनाएको छ ।

तस्बिरहरु : कटुञ्जे मावि