ओखलढुंगा । ओखलढुंगाको केत्तुकेमा जनसेवी हाफ म्यारथन प्रतियोगिता सञ्चालन भएको छ । जनसेवी वचत तथा ऋण सहकारी संस्था मानेभञ्ज्याङ गाउँपालिका ४ केतुकेको आयोजनामा शनिबार ५.५ किलोमिटर लम्बाईको हाफ म्याराथन प्रतियोगिता भएको हो । प्रतियोगितामा बालक देखि वृद्धसम्म सहभागी भएका छन् ।
१५ देखि २० बर्ष, २१ देखि ४० बर्ष र ४० बर्ष देखि माथिको महिला–पुरुष म्याराथन प्रतियोगितामा मानेभञ्ज्याङ ४ केत्तुके र आसपासका वडाका गरि १६० बढी प्रतियोगिहरुको सहभागीता थियो ।
केत्तुकेको बौद्धडाँडा देखि गुरुङडाँडा सम्मको ५.५ किलोमिटर हाफ म्याराथन दौडमा १५ देखि २० बर्ष उमेर समूहको पुरुष अन्तर्गत टेकेन्द्र राई प्रथम, दिर्ग राई द्वितीय, डिलन राई तृतीय र अञ्जन राई सान्तवना भएका छन् । यहि उमेर समूहको महिला तर्फ हर्ष राई प्रथम, अतिता तामाङ द्वितीय, यातना राई तृतीय र कोपिला बि.क सान्त्वना भइन् ।
यस्तै २१ देखि ४० बर्ष उमेर समूहको पुरुष तर्फ चेत बहादुर सार्की प्रथम, श्रीधन तामाङ द्वितीय, दिल बहादुर तामाङ तृतीय र प्रतिमान तामाङ सान्त्वना भएका छन् । यहि उमेर समूको महिला तर्फ तिली माया तामाङ प्रथम, डोल्मा तामाङ द्वितीय, रमिला तामाङ तृतीय र लक्ष्मी गोले सान्त्वना भइन् ।
प्रतियोगितामा ४० बर्ष माथिको उमेर समूह पुरुष तर्फ डिल्लीशेर तामाङ प्रथम, जुल्फे तामाङ द्वितीय, मोहन कुमार तामाङ तृतीय र एका बहादुर गुरुङ सान्त्वना भएका छन् । यहि समूहको महिला तर्फ अनिता तामाङ प्रथम, विमला तामाङ द्वितीय, मझुमाया तामाङ तृतीय र दमुना तामाङ सान्तवना भएकी छन् ।
प्रतियोगिताका विजेता प्रथम, द्वितीय र तृतीय हुनेलाइृ क्रमश नगद् रु. दुई हजार पाँच सय, एक हजार पाँच सय, एक हजारको साथमा प्रमाणपत्र र मेडल वितरण गरिएको थियो भने सान्त्वना हुनेलाई नगद रु. पाँच सयको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । विजेतालाई मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्राचन राई, जिल्ला भलिबल संघका अध्यक्ष तथा खेलका निर्णायक रुपलाल तामाङ, मानेभञ्ज्याङ ४ का वडा अध्यक्ष बिष्णु बहादुर तामाङ, सहकारी सञ्चालक समिति अध्यक्ष मोहन तामाङ लगायतले पुरस्कार प्रमाणपत्र वितरण गरेका थिए ।
विजेताहरुलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष रुम्दालीले खेल क्षेत्र, खेलाडी र खेल पुर्वाधार विकासमा पालिकाले जोड दिएका बताएका छन् । मानेभञ्ज्याङले जिल्लामै सबैभन्दा ठुलो पुरस्कार राशीको प्रदेश स्तरीय खेलकुद प्रतियागिता आयोजना गर्ने तयारी गरिरहेको समेत उनले जानकारी गराएका छन् । फरक प्रसंगमा उनले जनताले महसुस गर्नेगरि कामहरु भइरहेको दाबी गरे । गाउँपालिकाले सबै क्षेत्रको समग्र विकास गर्ने लक्ष सहित काम गरिरहेको उनको भनाई थियो ।
सहकारीले सामाजिक दायित्व अन्तर्गत ‘पसिना बगाऔँ, स्वस्थ बनौँ’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गरेको सहकारी सञ्चालक समिति अध्यक्ष मोहन तामाङले बताए । सहकारीले अन्य सामाजिक कार्य पनि गर्दै आएको उनले बताए ।
वि.सं २०६७ सालमा १३ जना सदस्यले ३०–३० हजार संकलन गरेर स्थापना भएको सहकारीमा अहिले २०८० सालसम्म आइपुग्दा ८७६ जना सदस्य छन भने ७ करोड बराबरको बार्षिक कारोबार हुने गरेको सञ्चालक समिति अध्यक्ष तामाङले बताएका छन् ।
प्रतिक्रिया