ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाले ४५ करोड ११ लाख २६ हजार चार सय बजेट ल्याएको छ । आइतबार गाउँपालिकाको १३ औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट ल्याएको हो ।
गाउँपालिकाले यस पटकको बजेटमा कृषि र शैक्षिक सुधारलाई विशेष प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज थापाले बताए ।
कृषिलाई समृद्धिको आधार मानेर पालिकाले एक वडा एक उत्पादनको नीति लिएको छ । जस अनुसार वडा नम्बर ६ र ८ मा सामुहिक किबी खेती, कृषि उपज उत्पादनको आधारमा अनुदानको व्यवस्था लगायतको कार्यक्रम रहेको उनको भनाई छ ।
पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागु गर्ने भएको छ ।
यस्तै नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलालाई प्रसूति पछि पाँच हजार नगद उपलब्ध गराउने नीति पालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । अपांगता भएका विपन्नलाई स्वास्थ्य बिमा, विद्यार्थी संख्याको आधारमा जहाँ विद्यार्थी त्यहाँ शिक्षक कार्यक्रम लागु हुने उनको भनाई छ ।
कृषि र शिक्षा सहित भौतिक विकाससँगै, सामाजिक, आर्थिक र पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई पनि पालिकाले जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिएका छन् ।
सभामा अध्यक्ष उत्तम राइले नीति कार्यक्रम र उपाध्यक्ष उर्मिला खतिवडाले बजेट प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया