लिखुको बजेट ४२ करोड २३ लाखः कृषि, शिक्षा र पूर्वाधार विकास प्राथमिकतामा

लिखुको बजेट ४२ करोड २३ लाखः कृषि, शिक्षा र पूर्वाधार विकास प्राथमिकतामा


भिजन समाचार
1.1k
Shares

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाले ४२ करोड २३ लाख ६४ हजार ५ सय ३१ रुपैंया बजेट ल्याएको छ । आगामी वर्षका निति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न चालु तर्फ २५ करोड ९९ लाख २७ हजार ५ सय (६१.५५) र पूजीँगत तर्फ १६ करोड २४ लाख ३७ हजार (३८.४५) विनियोजन गरेको हो ।

शनिवार यसममा सम्पन्न गाउँसभामा उपाध्यक्ष अस्मिता थापाले आगामी आर्थिक बर्ष ०८०-८१ को अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । क्षेत्रगत हिसाबमा प्रस्तुत बजेट अनुसार लिखुले आगामी वर्ष केही महत्वकांक्षी योजनाहरु सञ्चालन गर्ने भएको छ । कृषि, शिक्षा, पूर्वाधार विकास तथा खानेपानी र सिंचाईलगायतलाई प्राथमिकता दिइएको छ ।

लिखुले कृषि, पशुपन्छी तथा सहकारी विकासमा १ करोड ६० लाख ५३ हजार, पर्यटन क्षेत्रमा ४३ लाख, उर्जा विकासमा ८ लाख, गरिवि तथा बेरोजगारी समस्या समाधानका लागि ९९ लाख ६० हजार, लैंगिक समनता तथा सामाजिक समावेशीकरणका लागि १६ लाख ७५ हजार, शिक्षा, युवा तथा खेलकुद विकासमा १४ करोड २ लाख ५० हजार, स्वास्थ्य क्षेत्रमा ४ करोड ४३ लाख १२ हजार, पूर्वाधार विकास खानेपानी तथा साना सिचाईका लागि १३ करोड ५४ लाख ५३ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि २० लाख, सुशासन, कार्यालय सञ्चालन तथा प्रशासनीक खर्चमा ६ करोड ७५ लाख ६१ हजार ५ सय रकम प्रस्तुत गरिएको छ ।

लिखुका आर्थिक वर्ष २०८०-८१ का प्राथमिकतामा स्थानीय तह भित्रको शिक्षा, स्वास्थ्य, आवास र रोजगारी जस्ता आधारभुत मानवीय आवश्यकताहरुको परिपुर्ति गर्ने क्षेत्रहरुको विकास र प्रवर्धनगर्ने, उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्न कृषि, पर्यटन, जलस्रोत तथा उद्योग लगायतका क्षेत्रमा पुँजी विकास परिचालन गर्ने, भौतिक सामाजिक पुर्वाधारहरुको विकास गरि सडक विस्तार जलविद्युत जस्ता क्षेत्रहरुको निर्माण, विकास र विस्तार गर्ने, विपद् महामारीलाई मध्यनजर गरि त्यस बाट पर्ने असरलाई न्यूनिकरण गर्ने, स्थानीय स्रोत, साधन र सीपको अधिकम उपयोग गरि महिला बालबालिका, पिछडिएका क्षेत्र, समूदायलाई लैंङगिक समानता तथा सामाजिक समावेशीकरण, दिगो विकास वातावरण संरक्षण तथा सम्बर्धन गर्न भाषिक तथा सामाजिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पुर्याउने, उत्पादन मूलक छिटो प्रतिफल दिने जनताको जीबन स्तर आम्दानी तथा रोजगारी बढ्ने स्थानीय सहभागिता जुट्ने, स्वंयसेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने आर्थिक विकास, गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, स्थानीय सरकारको आधार सुशासन नैतिक र सदाचार भन्ने अभिप्रायका साथ आम नागरिकलाई गुणस्तरिय, परिणाममुखि, छिटो छरितो सेवा प्रदान गर्ने, प्राकृतिक प्रकोपको न्युनिकरण, पर्यावरणीय संरक्षण र हरियाली प्रवर्धन गर्नेसहितका नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष अशोककुमार कार्कीले सभामा प्रस्तुत गरेका थिए ।

स्थानीय सरकारले वजेटको उद्देश्य हासिल गर्न, प्राथमिकतालाई कार्यान्वयन गर्न, सघं र प्रदेशसँग सहकार्य, समन्वय र साझेदारी गर्ने निर्णय सभाबाट पारित गरिएको लिखु गाउँपालिकाका सूचना अधिकारी द्रोण धमलालले भिजनलाई जानकारी दिए ।