पहिरोमा पुरिएकाको विलन्दुमै पोष्टमार्टम, छिमेकीले गरे दाहसंस्कार

पहिरोमा पुरिएकाको विलन्दुमै पोष्टमार्टम, छिमेकीले गरे दाहसंस्कार


भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगामा पहिरोले पुरिएर मृत्युभएका ४ जनाको गाउँमै पोष्टमार्टम गरिएको छ । चम्पादेवी–८ विलन्दुमा पहिरोमा परि ज्यान गुमाएकाहरुको गाउँकै स्वास्थ्य चौकीमा पोष्टमार्टम गरिएको हो ।
आवश्यक कानूनी प्रक्रिया पुरा गरेर गाउँकै स्वास्थ्य युनिटमा पोष्टमार्टम गरि दाहसंस्कार गरिएको प्रहरी निरीक्षक देवेन्द्र दासले राससलाई जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण ४ वटा शव बोकेर जिल्ला अस्पताल रुम्जाटारसम्म लैजान समस्या हुने भएपछि रानीवन स्वास्थ्य केन्द्रबाट डाक्टर झिकाएर गाउँमै शवको पोष्टमार्टम गरिएको हो ।

यसक्षेत्रमा मानविय क्षति हुँदा पोष्टमार्टम गर्न १ दिन लगाएर जिल्ला अस्पताल रुम्जाटार वा रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने अवस्था छ ।

बर्षातसँगै आएको पहिरोले पुरेर ज्यान गुमाउने ३६ वर्षिय रण बहादुर गुरुङ र श्रीमती २९ बर्षीया शिवमाया गुरुङ, १८ महिनाकी छोरी कृतिका गुरुङ, १० वर्षका छोरा दिनेश गुरुङको मृत्यु भएको थियो ।
गुरुङ परिवारका सबै सदस्यको मृत्यु भएको र आफन्तहरु समेत नरहेपछि छिमेकीहरुले दाहसंस्कार गरेका छन् ।

शुक्रबार पहिरोले गाउँनै बगाउँदा ४ जना मानिससहित लाखौंको धनमाल, पशुधन, भौतिक सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।