प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक आरोहण

हिमाली पर्यटन सुधार गर्न ध्यानाकर्षण


प्रदेश लेखा इकाइ कार्यालय ओखलढुंगाका प्रमुख तथा तथा आठौँ तहका वरिष्ठ लेखा अधिकृत पृथ्वीमान लिम्बुले छ हजार ४७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन् । करिब १० लाख रुपैयाँ व्यक्तिगत खर्च गरेर हिमालको चुचुरोमा पुगेका लिम्बुले आरोहणसँगै हिमाली पर्यटन क्षेत्रका पूर्वाधार सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


लिम्बुले सन् २०२६ अक्टोबर १८ आइतबार बिहान ७ बजेर १० मिनेटमा मेरापिकको चुचुरो चमेका हुन् । उनले बिहान ३ बजेर ५ मिनेटमा ५ हजार ८०० मिटर उचाइमा रहेको उच्च शिविरबाट आरोहण सुरु गरेका थिए । करिब चार घण्टाको कठिन यात्रापछि उनी चुचुरोमा पुग्न सफल भएका छन् ।


निजी खर्चमा मेरापिक आरोहण गर्ने नेपालकै पहिलो अधिकृत कर्मचारी भएको उनको दाबी छ । सरकारी सेवामा कार्यरत रहेकै अवस्थामा व्यक्तिगत लगानीमा हिमाल आरोहण गरेका लिम्बुको आरोहण व्यवस्थापन एटलस अल्पाइन एक्सपिडिसन प्रालिले गरेको थियो । आरोहणमा उनलाई पथप्रदर्शक सिङ्गी लामाले साथ दिएका थिए ।


यसअघि लिम्बुले यसै वर्ष चार हजार ५०० मिटर उचाइमा रहेको मार्डी आधार शिविर र पाँच हजार ३५४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरको यात्रा गरेका थिए । ती यात्राले आफ्नै देशका हिमाल आरोहण गर्ने सोच विकास गरेको उनले बताएका छन् ।

हिमाली यात्राले साहसिक अनुभवसँगै त्यहाँको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था र भौगोलिक बनोटलाई नजिकबाट बुझ्ने अवसर दिएको उनको भनाई छ ।

हिमाल चढ्न सहज छैन, पूर्वाधार सुधार्न सरकारलाई आग्रह:

मेरापिक आरोहणका क्रममा देखिएका समस्याले हिमाली पर्यटनको पूर्वाधार सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको लिम्बुले बताएका छन् । उनका अनुसार आधार शिविर र उच्च शिविरमा रहेका शौचालय अत्यधिक फोहोर भएकाले प्रयोग गर्न कठिन थियो । उचित व्यवस्थापन नहुँदा आरोहीहरू खुला क्षेत्रमा दिसापिसाब गर्न बाध्य हुने अवस्था रहेको उनको अनुभव छ ।


त्यस्तै, खोलामाथि बनाइएका साँघु जीर्ण हुँदा पर्यटक तथा आरोहीलाई आवतजावतमा समस्या हुने गरेको र दुर्घटनाको जोखिमसमेत बढेको उनले बताए ।


हिमाली क्षेत्रको वातावरण स्वच्छ राख्न, पर्यटकको यात्रा सुरक्षित बनाउन र आरोहणलाई सहज बनाउन शौचालयको उचित व्यवस्थापन, जीर्ण साँघुको मर्मत तथा पदमार्ग सुधारमा सरकारले प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । यस्ता पूर्वाधारको विकासले हिमाली पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने उनको विस्वास छ ।

सरकारी कर्मचारीलाई पनि हिमाल आरोहणमा अवसर दिनुपर्ने:

लिम्बुले हिमाल आरोहणमा रुचि राख्ने सरकारी कर्मचारीलाई प्रदेश तथा सङ्घीय सरकारले आवश्यक सहयोग, अवसर र बजेट उपलब्ध गराउनुपर्ने बताएका छन् । उनका अनुसार हिमाल आरोहणलाई साहसिक गतिविधिमा मात्र सीमित नराखी कर्मचारीको ज्ञान, सीप, क्षमता र अनुभव अभिवृद्धि गर्ने अवसरका रूपमा पनि लिनुपर्छ ।
यस्ता गतिविधिबाट कर्मचारीले नयाँ भौगोलिक, सामाजिक तथा सांस्कृतिक परिवेशबारे प्रत्यक्ष अनुभव हासिल गर्न सक्ने र त्यसले संस्थागत कार्यक्षमता अभिवृद्धिमा समेत योगदान पु¥याउने उनकोभ भनाई छ ।
आफ्नै कमाइबाट करिब १० लाख रुपैयाँ खर्चेर मेरापिकको चुचुरोमा पुगेका लिम्बुले सरकारी जिम्मेवारीसँगै साहसिक यात्रालाई पनि अघि बढाउन सकिने सन्देश दिएका छन् । उनको आरोहणले हिमाल चढ्ने व्यक्तिगत साहससँगै हिमाली पर्यटनका समस्या पहिचान र सुधारका लागि समेत बहसको विषय अघि सारेको छ ।