विशेषज्ञ स्वास्थ्य सेवा अभावमा ओखलढुंगाका बिरामीलाई उपचारमा चर्को आर्थिक भार


ओखलढुंगा । विशेषज्ञ स्वास्थ्य सेवा, सघन उपचार कक्ष (आईसीयू), पर्याप्त एम्बुलेन्स तथा भरपर्दो सडक पूर्वाधारको अभावमा ओखलढुंगाका आकस्मिक बिरामीले समयमै उपचार पाउन कठिनाइ हुने गरेको छ । जिल्लामा उपचार सम्भव नभएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौंलगायत ठूला सहरमा लैजानुपर्ने बाध्यताका कारण परिवारले उपचारसँगै यातायात र उद्धारमा ठूलो आर्थिक भार व्यहोर्नुपरेको छ ।

मानेभञ्ज्याङ गाउँपालिका–६ की ५७ वर्षीया बडिमाया राई यसको उदाहरण हुनुहुन्छ । फोक्सोको क्यान्सरबाट पीडित राईको गत माघ ४ गते स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल काठमाडौं लैजानुपर्ने अवस्था आयो । सडकमार्गबाट समयमै लैजान सम्भव नभएपछि परिवारले दुई लाख १६ हजार रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेको उनका छोरा गोपाल राईले बताए । आकस्मिक अवस्थामा उपचारका लागि हेलिकप्टर नै अन्तिम विकल्प बन्ने गरेको उनको भनाइ छ ।

सुनकोशी गाउँपालिका–९ का ५३ वर्षीय मानबहादुर तामाङले पनि एम्बुलेन्स अभावका कारण उपचारमा ढिलाइको गम्भीर परिणाम भोग्नुपर्‍यो । गत माघ १५ गते बिहान एक्कासि अचेत भएपछि अस्पताल लैजान एम्बुलेन्स खोज्दा घण्टौँ बितेको परिवारले जनाएको छ । एम्बुलेन्स नपाएपछि बोलेरो जिपमा राखेर काठमाडौं लगिएका तामाङलाई धुलाम्मे कच्ची सडक हुँदै करिब १५ घण्टापछि काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो ।

तामाङलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । अपरेसन तथा आईसीयू उपचारमा चार लाख ३० हजार रुपैयाँ र औषधिमा थप तीन लाख रुपैयाँ खर्च भए पनि उहाँको उपचारका क्रममा मृत्यु भयो । चिकित्सकले अचेत भएको चार घण्टाभित्र अस्पताल पुर्‍याउन सकेको भए बचाउन सकिने अवस्था रहेको परिवारलाई बताएका थिए ।

आर्थिक अवस्था कमजोर रहेका परिवारलाई अस्पताल प्रशासनले ५० प्रतिशत छुट दिएपछि मात्र शव बुझ्न सम्भव भएको थियो । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाको पहलमा शववाहनको व्यवस्था भएपछि तामाङको पार्थिव शरीर गाउँ ल्याई अन्त्येष्टि गरिएको थियो ।

ओखलढुंगाबाट उपचारका लागि काठमाडौं जाने बिरामीको संख्या पनि उल्लेख्य छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अभिलेखअनुसार अघिल्लो आर्थिक वर्षमा ओखलढुंगाका छ हजार ३७२ जनाले बहिरङ्ग सेवा लिएका थिए । आर्थिक वर्ष २०८०/८१ मा मात्र ओखलढुंगाका ३४० जना बिरामी उक्त अस्पतालमा भर्ना भएका थिए । अन्य अस्पतालको विवरण यहाँ समेटिएको छैन ।

जिल्लामा विशेषज्ञ चिकित्सक तथा अत्याधुनिक उपचार सुविधा पर्याप्त नभएकाले बिरामीलाई काठमाडौं तथा अन्य ठूला सहरमा ‘रेफर’ गर्ने क्रम बढेको छ । कमजोर सडक, पर्याप्त एम्बुलेन्सको अभाव र लामो दूरीका कारण रेफर गरिएका बिरामीले समेत समयमै उपचार पाउने सुनिश्चितता हुन सकेको छैन ।

इमरजेन्सी मेडिसिनका एमडी डा. अजयसिंह थापाले दुर्घटना, चोटपटक र गर्भावस्था लगायत आकस्मिक अवस्थामा जिल्लामै तत्काल उपचारको व्यवस्था गर्न सके धेरैको ज्यान जोगाउन सकिने बताए । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले पनि दुर्गम क्षेत्रमा अस्पताल तथा आकस्मिक उपचार सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । तत्काल सबै सुविधा सम्पन्न अस्पताल निर्माण गर्न नसकिए पनि प्रसूति, एपेन्डिसाइटिस, चोटपटकलगायत आकस्मिक समस्या उपचार गर्न सक्ने अस्पताल आवश्यक रहेको उनको भनाइ छ ।

जग्गा उपलब्ध भए पनि बनेन प्रादेशिक अस्पताल

ओखलढुंगा, सोलुखुम्बु, खोटाङ लगायत आसपासका जिल्लालाई लक्षित गरी मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्ताव गरिएको प्रादेशिक अस्पताल निर्माणको कामसमेत अघि बढ्न सकेको छैन ।

अस्पताल निर्माणका लागि टोक्सेलका ३४ परिवारले करिब चार वर्षअघि १६६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका नाममा जग्गा रजिस्ट्रेसन पास गरिए पनि निर्माणको काम अघि बढ्न नसकेको जग्गादाताले बताएका छन् ।

जग्गादातामध्येका नयन गौतमका अनुसार प्रदेश सरकारबाट हालसम्म ४५ लाख रुपैयाँ मात्र बजेट प्राप्त भएको छ । पूर्वप्रदेशसभा सदस्य मोहनकुमार खड्काका अनुसार उक्त रकममध्ये २२ लाख रुपैयाँमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ भने बाँकी रकमबाट केही जग्गा सम्याउने काम भएको छ ।

लामो समयसम्म अस्पताल निर्माणको काम अघि नबढेपछि टोक्सेलका स्थानीयले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेका थिए ।

प्रस्तावित अस्पताल निर्माणका लागि करिब दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । पूर्वसभामुख बाबुराम गौतमले ठूलो लागतको योजना यही गतिमा अघि बढाउँदा निर्माणमा दशकौँ लाग्न सक्ने भएकाले लागत घटाएर अस्पताल निर्माण अघि बढाउनुपर्ने बताएका छन् ।

पूर्वसंघीय सांसद रामहरि खतिवडाले प्रदेश सरकारबाट अस्पताल निर्माण सम्भव नभए संघीय सरकारमार्फत निर्माण अघि बढाउन पहल गर्नुपर्ने बताए । वर्तमान संघीय सांसद विश्वराज पोखरेलले पनि अस्पताल निर्माणका लागि पहल गरिने बताएका छन् । यद्यपि चालु आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन भएको छैन ।

ओखलढुंगामा स्वास्थ्य उपचारको पहुँच सुधारका लागि अस्पताल निर्माणसँगै आकस्मिक उपचार सेवा, एम्बुलेन्स, सडक पूर्वाधार र प्रभावकारी ‘रेफरल’ प्रणालीमा लगानी आवश्यक देखिएको छ । समयमै उपचारको व्यवस्था हुन नसके सामान्य स्वास्थ्य समस्या पनि जटिल बन्ने र आकस्मिक अवस्थामा बिरामीले ज्यान गुमाउने जोखिम कायमै रहने देखिन्छ । जिल्लामा हाल जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पताल सञ्चालनमा छन् ।