ओखलढुंगा। नेपाली कांग्रेस मानेभञ्ज्याङ गाउँपालिका कार्यसमितिको सभापतिमा हुकुमसिंह राई निर्वाचित भएका छन् । आइतबार भएको मतदानमा प्रतिस्पर्धी विष्णु गौतमलाई २५ मतले पछि पार्दै राई सभापतिमा निर्वाचित भएका हुन् ।
निर्वाचन मण्डलका अनुसार कुल २१५ मत खसेकोमा राईले ११८ मत प्राप्त गरेका छन् भने गौतमले ९३ मत पाएका छन् । चार मत बदर भएको जनाइएको छ ।
सभापति पदका लागि राई र गौतम नेतृत्वका दुई समूह प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि मतदानमार्फत गाउँपालिका कार्यसमितिको नेतृत्व चयन गरिएको हो ।
नेपाली कांग्रेस ओखलढुंगाका आठ स्थानीय तहमध्ये मानेभञ्ज्याङ बाहेक सात पालिकामा कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन भएको छ । सिद्धिचरण नगरपालिकाको सभापतिमा निबन्ध श्रेष्ठ, मोलुङमा फणिन्द्र ढकाल, सुनकोशीमा विष्णु आले मगर, चिशंखुगढीमा रामचन्द्र कार्की, चम्पादेवीमा विष्णु पुलामी मगर, लिखुमा गोपाल खड्का र खिजिदेम्बामा मानबहादुर महतरा सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
मानेभञ्ज्याङमा भने नेतृत्वका आकांक्षीबीच सहमति हुन नसकेपछि मतदानबाट सभापति चयन गरिएको हो । यससँगै ओखलढुंगाका आठवटै स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन अन्तर्गत नेतृत्व चयन प्रक्रिया पूरा भएको छ ।

प्रतिक्रिया