ओखलढुंगा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले गत आर्थिक वर्षमा ४८ लाख रुपैयाँभन्दा बढीको चामल र चिनी बिक्री गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ६९७.७२ क्विन्टल चामल र चिनी बिक्री गरी ४८ लाख ९३ हजार ६२० रुपैयाँ तीन पैसा बराबरको कारोबार गरेको हो ।
कार्यालयकी सूचना अधिकारी सिर्जना बोहोराका अनुसार एक वर्षको अवधिमा अरुवा सोना मन्सुली चामल ३९ हजार ९२५ किलो, फोर्टिफाइड अरुवा सोना मन्सुली चामल चार हजार ५२५ किलो, फोर्टिफाइड स्टिम जिरा मसिनो चामल चार हजार ८७५ किलो र स्टिम जिरा मसिनो चामल १२ हजार ७५ किलो बिक्री भएको छ ।
यस्तै, कार्यालयले आठ हजार ३८२ किलो चिनीसमेत बिक्री गरेको सूचना अधिकारी बोहोराले जानकारी दिनुभयो ।
बजार मूल्यभन्दा सस्तो र पोषणयुक्त खाद्यान्न उपलब्ध हुने भएकाले उपभोक्ताको आकर्षण चामल र चिनीमा बढ्दै गएको कार्यालयले जनाएको छ । सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन स्थानीय तहसँग समन्वय बढाइएको कार्यालयको भनाइ छ ।
आगामी दिनमा चामल र चिनीसँगै अन्य खाद्यान्न सामग्रीसमेत बिक्री गर्ने योजना कार्यालयले बनाएको छ । गत आर्थिक वर्षमा कार्यालयले बिक्री लक्ष्यको करिब ७० प्रतिशत प्रगति हासिल गरेको थियो । चालु आर्थिक वर्षमा भने एक लाख किलो चामल तथा चिनी बिक्री गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया