ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को प्रभावकारी कार्यान्वयनका लागि नगरबासीलाई सचेत गराएको छ । नगरपालिकाले सबै अभिभावकलाई आफ्ना बालबालिकाको आधारभूत शिक्षा (कक्षा ८) अनिवार्य रूपमा पूरा गराउन आग्रह गरेको हो ।
ऐनअनुसार आधारभूत शिक्षा पूरा नगरे सरकारी सेवा, सरकारी संस्थामा नियुक्ति तथा विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रहनसमेत कानुनी रोक लाग्ने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका शिक्षा शाखा प्रमुख फणिन्द्रबहादुर कटवालका अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले प्रत्येक बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । ऐनअनुसार आधारभूत तह (कक्षा ८) सम्मको शिक्षा अनिवार्य तथा निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था छ ।
वि.सं. २०६३ असोज २ गतेपछि जन्मिएका सबै व्यक्तिले २०८५ वैशाख १ गतेभित्र अनिवार्य रूपमा कक्षा ८ उत्तीर्ण गरिसकेको हुनुपर्ने कानुनी व्यवस्था छ । अन्यथा आधारभूत शिक्षा पूरा नगरेका व्यक्तिले संघ, प्रदेश वा स्थानीय तहको सरकारी सेवामा प्रवेश गर्न, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा नियुक्ति वा पदोन्नति पाउन तथा कम्पनी, फर्म, सहकारी संस्था वा गैरसरकारी संस्थाको सञ्चालक, संस्थापक, शेयरधनी, सदस्य वा पदाधिकारी बन्न कानुनी रूपमा अयोग्य ठहरिने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।
कमजोर स्वास्थ्य अवस्था, बौद्धिक अपाङ्गता वा अन्य जटिल कारणले शिक्षा हासिल गर्न नसकेका व्यक्तिका हकमा भने उक्त व्यवस्था लागू नहुने उल्लेख गरिएको छ । यो कानुनी प्रावधान २०८५ वैशाख १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।
नगरपालिकाले विद्यालय उमेरका सबै बालबालिकालाई नियमित रूपमा विद्यालय भर्ना गराई आधारभूत शिक्षा पूरा गराउनु अभिभावकको कानुनी दायित्व भएको जनाएको छ । साथै विद्यालय उमेरका कुनै पनि बालबालिका विद्यालयबाहिर रहेको जानकारी भए सम्बन्धित स्थानीय तहलाई जानकारी गराएर सहयोग गर्न पनि आग्रह गरिएको छ ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिष्मराज भट्टराईद्वारा जारी सूचनामा विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा भर्ना नगर्ने वा आधारभूत शिक्षा पूरा नगरी विद्यालयबाट बाहिरिने अवस्था सिर्जना गर्ने अभिभावक स्थानीय तहबाट प्रदान गरिने केही सेवा–सुविधाबाट समेत वञ्चित हुन सक्ने कानुनी व्यवस्था रहेको उल्लेख छ ।
शिक्षित, सक्षम र समुन्नत समाज निर्माणका लागि सबै अभिभावकले आफ्ना बालबालिकालाई समयमै विद्यालय भर्ना गराई आधारभूत शिक्षा पूरा गराउन तथा विद्यालय शिक्षालाई निरन्तरता दिन नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया