सिद्धिचरण नगरपालिकामा योजना माग संकलन सुरु

भिजन समाचार
38
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिकामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक योजना, बजेट तथा कार्यक्रम पेश गर्न नगर क्षेत्रभित्र कार्यरत संघ–संस्था तथा समितिलाई आग्रह गरिएको छ ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आगामी आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम असार १० गतेभित्र नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सम्बन्धित निकायलाई समयमै योजना तथा कार्यक्रम उपलब्ध गराउन अनुरोध गरेको हो ।

नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र सञ्चालन हुने योजना तथा कार्यक्रम स्थानीय तहसँग समन्वय गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेकाले गैरसरकारी संघ–संस्था, उपभोक्ता समिति, सहकारी संस्था लगायतले सञ्चालन गर्ने योजना, कार्यक्रम तथा बजेट नगरपालिकाको वार्षिक योजना तथा बजेटमा समावेश गराउनुपर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत भीष्मराज भट्टराई द्वारा हस्ताक्षरित सूचनामा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने योजना, कार्यक्रम तथा बजेटको हार्ड कपी र सफ्ट कपी २०८३ जेठ मसान्तभित्र नगरपालिकाको कार्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

साथै सम्बन्धित विवरण नगरपालिकाको इमेलमार्फत समेत पठाउन सकिने जनाएको छ ।