खिजीदेम्बाका वडा–वडामा सार्वजनिक सुनुवाईः नागरिकका गुनासो सुन्दै जनप्रतिनिधि

भिजन समाचार
130
Shares

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले वडा वडामा सार्वजनिक सुनुवाई गरेर नागरिकका गुनासो सुन्न थालेको छ । पालिका तथा वडाको सेवा, बजेट नीति तथा कार्यक्रम र वडातहमा रहेका समस्याहरुका बारेमा नागरिकका प्रश्नको उत्तर दिँदै आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा वडास्तरबाटै सुझाव लिन सार्वजनिक कार्यक्रम लिएर पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु वडा वडामा पुगेका हुन् ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष शुसिला तामाङ, प्रमुख प्रशासकीय अधिकृत नविना गिरीसहित प्राविधिक, विभिन्न शाखाका प्रमुखलगायतका जिम्मेवार कर्मचारीहरु वडावडामा पुगेका छन् ।

वडास्तरीय सार्वजनिक सुनुवाई वडा नम्बर ९ पात्लेबाट सुरु गरिएको छ ।

सम्बन्धित वडाका वडा सचिवले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थासहितको सेवा प्रवाहको प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

जवाफदेहीता, पारदर्शीता र सुशासनमा जोड दिँदै आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले विकास निर्माण, स्वास्थ्य, शिक्षा, स्वरोजगारलगायतका बिषयमा वडा र पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई प्रश्न राख्ने गरेका छन् ।

स्थानीयले राखेका प्रश्नको उत्तरसहित समस्याको स्थलगत रुपमै समाधान खोज्ने प्रयास गरिएको छ ।

वडा तहमा पुग्दा प्राप्त भएका सुझाव आगामी वर्षको बजेट तर्जुमाका लागि पृष्ठपोषण हुने र सेवा प्रवाहमा समेत थप सुधार गरिने प्रमुख प्रशासकीय अधिकृत नविना गिरीको भनाई छ ।

सुशासन र दिगो विकासमा आफ्नो सुरुवाती दिनदेखिकै पहल रहेको र भ्रष्ट्राचार मुक्त पालिका निर्माणका लागि जनताका बीचमा सवाल जवाफ गर्न वडा वडामा सार्वजनिक सुनुवाई कार्यक्रम लिएर वर्षेनी पुग्ने गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।

खिजीदेम्बाले वर्षेनी वडा वडामा पुगेर सार्वजनिक सुनुवाई मार्फत नागरिकसँग साक्षात्कार गरिरहेको छ ।