ओखलढुंगा । लिखु गाउँपालिका–२ मा सञ्चालन गरिएको निःशुल्क पशु स्वास्थ्य शिविरबाट ९६ घरधुरी कृषक लाभान्वित भएका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा र गाउँपालिका पशु सेवा शाखाको समन्वयमा आयोजित शिविरमा दुई सयभन्दा बढी गाई–भैँसी, गोरु, बाख्रा–पाठा लगायतका पशुको स्वास्थ्य परीक्षण तथा उपचार गरिनुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको निमित्त प्रमुख गणेश प्रसाद भट्टराईले जानकारी दिए ।
ग्रामीण क्षेत्रमा कुकुरमार्फत फैलिने रेबिज नियन्त्रणका लागि २५ वटा कुकुरलाई खोपसमेत लगाइएको थियो, जसले मानव स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । शिविरमा पशु रोग उपचारसँगै गोबर परीक्षण, पोषण व्यवस्थापन तथा रोग रोकथामसम्बन्धी परामर्श प्रदान गरिएको थियो ।
पशु चिकित्सकहरूले कृषकलाई आधुनिक पशुपालन विधि अपनाउन सुझाव दिएका छन् । वडा अध्यक्ष राम कुमार बुढाथोकीका अनुसार गाउँमै विशेषज्ञ सेवा उपलब्ध हुँदा कृषकको समय र खर्च बचत भएको छ र यस्ता शिविर नियमित सञ्चालन भए पशुपालन व्यवसाय थप व्यवस्थित र उत्पादनमुखी बन्ने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय कृषकहरूले पनि गाउँमै सेवा पाउँदा सदरमुकाम धाउनुपर्ने झन्झट हटेको भन्दै पशु स्वास्थ्य सुधारसँगै दूध तथा मासु उत्पादन वृद्धि हुने अपेक्षाले उत्साह व्यक्त गरेका छन् ।

प्रतिक्रिया