ओखलढुंगा । चैत महिनामा मात्रै ओखलढुंगा जिल्लामा २२ वटा विपद्जन्य घटना हुँदा ९५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार हावाहुरी, आगलागी र चट्याङका कारण ९५ लाख ७५ हजार ७५० रुपैयाँ बराबरको भौतिक क्षति भएको हो ।
प्रहरीका अनुसार सबैभन्दा बढी हावाहुरीका ११ घटना भएका छन् भने आगलागीका १० र चट्याङको एक घटना दर्ता भएको छ । ती घटनाबाट ठूलो परिमाणमा भौतिक क्षति भए पनि मानविय क्षति भने नभएको जनाइएको छ ।
विपद् व्यवस्थापन तथा नियन्त्रणका लागि ६० जनाभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । घटनास्थलमा तत्काल उद्धार तथा नियन्त्रणका कार्य प्रभावकारी रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख मदन केसीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा अझै पनि यस्ता विपद्को जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । साथै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि तथा शीघ्र उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया