ट्राफिक कार्यालयमा थन्किए ८१ कागजपत्र

भिजन समाचार
86
Shares

ओखलढुंगा । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगामा सवारीसम्बन्धी ८१ वटा सक्कली कागजपत्र अझैसम्म सम्बन्धित धनीले लिन आएनन् । ट्राफिक नियम उल्लंघनका क्रममा सवारी चेकजाँच गर्दा नियन्त्रणमा लिइएका चालक अनुमतिपत्र, ब्लु बुक तथा अन्य कागजपत्र लामो समयदेखि कार्यालयमै थन्किएका हुन् ।

आर्थिक वर्ष २०८०/०८१ देखि ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ लागू भएपछि यस्ता कागजपत्र व्यवस्थित रूपमा सङ्कलन हुँदै आएको कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी सहायक हवल्दार नारायण बस्नेतका अनुसार चेकजाँचका क्रममा चौबीस घण्टे पूर्जी पाएका तर तोकिएको समयभित्र जरिवाना नतिरेका सवारी चालक तथा धनीहरू कागजपत्र लिन अझैसम्म सम्पर्कमा आएका छैनन् ।

ट्राफिक प्रहरीले सम्बन्धित सबैलाई यथाशीघ्र कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेर आफ्नो कागजपत्र बुझिलिन आग्रह गरेको छ । लामो समयसम्म पनि नलगेका कागजपत्र भने यातायात व्यवस्था कार्यालय रुम्जाटार पठाइने छ ।

ट्राफिक प्रहरीका अनुसार नियम उल्लंघनपछि जरिवाना नतिर्दा सवारी सञ्चालनमा समस्या मात्र नभई थप कानुनी झन्झट पनि बढ्न सक्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न सबैलाई अनुरोध गरिएको छ ।