मूल्य समायोजन गर्न निर्माण व्यवसायी संघको माग

भिजन समाचार
46
Shares

ओखलढुंगा । ओखलढुंगा निर्माण व्यवसायी संघले निर्माण क्षेत्रमा देखिएका बढ्दो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

संघले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण निर्माण सामग्रीको आपूर्ति र मूल्यमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती तथा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।

संघका जिल्ला अध्यक्ष विनोद ताम्राकारका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि, इन्धनको महँगी तथा अन्य लागतमा आएको तीव्र वृद्धिका कारण व्यवसायीहरू गम्भीर समस्यामा परेका छन् । “हालको अवस्थामा पुराना दररेटमै काम गर्नुपर्ने बाध्यता छ, जसले व्यवसायीहरूलाई आर्थिक रूपमा ठूलो मारमा पारेको छ,” उनले बताए ।

उनले थपे, बजारमा दैनिकजसो मूल्य बढ्दै जाँदा ठेक्का सम्झौताअनुसार काम अघि बढाउन कठिन भइरहेको छ । यसले निर्माण कार्य नै प्रभावित हुने जोखिम बढाएको संघको भनाइ छ ।

संघले पत्रमार्फत मूल्य समायोजनको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न, निर्माण कार्यका लागि सहज वातावरण सिर्जना गर्न तथा स्थानीय तहदेखि सम्बन्धित निकायसम्म आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ ।

निर्माण क्षेत्रलाई चलायमान राख्न समयमै निर्णय र सहयोग अपरिहार्य रहेको संघले उल्लेख गरेको छ । जिल्लाको विकास निर्माण कार्यलाई निरन्तरता दिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा अध्यक्ष ताम्राकारले जोड दिएका छन् ।

संघको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मंग्राती र जिल्ला समन्वय समिति प्रमुख भट्टराईले विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।