ओखलढुंगा । सुनकोशी गाउँपालिकामा आधारभूत तह (कक्षा–८) को शैक्षिक अवस्था कमजोर देखिएको छ । माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउँदै आएको पालिकामा आधारभूत तहको नतिजाले भने चिन्ताजनक अवस्था उजागर गरेको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक परीक्षाको नतिजाअनुसार योगिस्थान आधारभूत विद्यालयका सबै १० जना विद्यार्थी नन–ग्रेड (एनजी) भएका छन् । एक जना पनि उत्तीर्ण हुन नसक्नुले विद्यालयको शैक्षिक अवस्था निकै कमजोर रहेको देखिएको छ ।
यस्तै, बलखु माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी २४ जनामध्ये ८ जना मात्र उत्तीर्ण भएका छन् भने पञ्चकन्या माध्यमिक विद्यालयका १३ जनामध्ये ३ जना मात्रै पास भएका छन् । नमुना विद्यालयका रूपमा परिचित प्रवुद्ध माध्यमिक विद्यालयमा पनि अपेक्षाअनुसार नतिजा आउन सकेन—२८ जनामध्ये ६ जना मात्र उत्तीर्ण भएका छन् ।
जगतजननी माध्यमिक विद्यालयबाट परीक्षा दिएका १६ जनामध्ये १ जना मात्रै पास भएका छन् भने कटुन्जे माध्यमिक विद्यालयमा १७ जनामध्ये ८ जना उत्तीर्ण भएका छन् । कटुन्जे १० नं. वडाको कुशादेवी माध्यमिक विद्यालयमा १९ जनामध्ये २ जना मात्र उत्तीर्ण भएका छन् ।
समग्रमा हेर्दा चम्पादेवी आधारभूत विद्यालय, सुनकोशी–९ ले उत्कृष्ट नतिजा ल्याएको छ । उक्त विद्यालयका १४ जनामध्ये १२ जना उत्तीर्ण भएका छन् । अन्य विद्यालयमध्ये वडा नं. २ का सुनकोशी माध्यमिक विद्यालय, आरुभन्ज्याङ माध्यमिक विद्यालय र वडा नं. ३ का कालिका माध्यमिक विद्यालयको नतिजा तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ ।
गाउँपालिकाभरिका १६ वटा आधारभूत तहका विद्यालयबाट ३१९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये १५५ जना नन–ग्रेड भएका छन् भने १२ जना विद्यार्थी परीक्षामा सहभागी नै भएनन् । परीक्षा २०८२ चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको थियो र नतिजा चैत १९ गते सार्वजनिक गरिएको हो ।
गाउँपालिका शिक्षा शाखाका प्रमुख विवेक तामाङका अनुसार समग्र नतिजा सन्तोषजनक भए पनि नन–ग्रेड विद्यार्थीको संख्या धेरै हुनु चिन्ताको विषय हो । आगामी दिनमा शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन, शिक्षक तालिम, प्रविधिको प्रयोग, दरबन्दी व्यवस्थापन र नियमित अनुगमनलाई प्राथमिकतामा राखिने उनले बताए ।
केही विद्यालयले राम्रो नतिजा ल्याए पनि अधिकांश विद्यालयमा उच्च संख्यामा विद्यार्थी नन–ग्रेडमा परेकाले गाउँपालिकाभित्र शैक्षिक गुणस्तरमा गम्भीर असमानता देखिएको सरोकारवालाहरू बताउँछन् । यसले शिक्षण–सिकाइ प्रक्रिया, शिक्षक व्यवस्थापन, विद्यार्थीको नियमितता र समग्र शैक्षिक वातावरणमा सुधारको आवश्यकता औंल्याएको छ ।
अघिल्लो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुनकोशी गाउँपालिकाले करिब ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेको थियो । तर आधारभूत तहको कमजोर नतिजाले गुणस्तर माथि प्रश्न उठाएको छ ।
नन–ग्रेड विद्यार्थीहरूको ग्रेड वृद्धिका लागि आगामी वैशाख ६ गतेदेखि १३ गतेसम्म पुनः परीक्षा सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएपनि उल्लेखनिय सुधार हुननसक्नु चिन्ताकाे विषय रहेकाे स्थानियकाे भनाई छ ।

प्रतिक्रिया