जापानमा नवजात शिशुको शव लुकाएको आरोपमा नेपाली युवती पक्राउ

भिजन समाचार
100
Shares
AI मार्फत निर्मित तस्वीर।

टोकियो । जापानको राजधानी टोकियोमा एक २३ वर्षीया नेपाली छात्रालाई आफ्नै नवजात शिशुको शव लुकाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घटना टोकियोको आराकावा क्षेत्रमा रहेको एक जापानी भाषा विद्यालयको होस्टेलमा घटेको हो ।

जापानी सञ्चारमाध्यम क्योदो न्यूजका अनुसार घटना अप्रिल ६ र ७ तारिखको बीचमा भएको अनुमान गरिएको छ । ती युवतीले आफूले जन्म दिएको शिशुको मृत्यु भएपछि आत्तिएर के गर्ने भन्ने नबुझी शवलाई तौलियामा बेरेर प्लास्टिकको झोलामा राखी कोठाको दराजभित्र लुकाएको स्वीकार गरेकी छिन् । मृत शिशु छोरी रहेको र प्रारम्भिक जाँचमा शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार युवतीसँगै बस्ने अर्की महिलाले उनलाई रक्ताम्मे अवस्थामा देखेपछि शंका उत्पन्न भई सोधपुछ गर्दा घटना बाहिर आएको हो । त्यसपछि तुरुन्तै उद्धारकर्मी र प्रहरीलाई खबर गरिएको थियो । प्रहरी टोलीले आज ती युवतीलाई नियन्त्रणमा लिएको हो ।

घटनापछि शिशुको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । प्रारम्भिक अनुमानमा जन्मपश्चात् उचित उपचार नपाउँदा वा अन्य स्वास्थ्य जटिलताका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको भए पनि यकिन कारण भने अझै खुल्न बाँकी छ । प्रहरीले नवजात शिशुको मृत्युको वास्तविक कारण पत्ता लगाउन विस्तृत स्वास्थ्य परीक्षण र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । युवतीकाे परिचय प्रहरीले गाेप्य राखेकाे छ ।