अज्ञात रोगले ओखलढुंगामा मौरी मर्न थाले, किसान चिन्तित


ओखलढुंगा । जिल्लाका विभिन्न स्थानीय तहमा पछिल्लो केही सातायता मौरीमा देखिएको अज्ञात रोगका कारण ठूलो क्षति भएको छ । मोलुङ, सुनकोशी, मानेभञ्ज्याङ गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाका किसानहरूले पालेका मौरी धमाधम मर्न थालेपछि मौरीपालक किसान चिन्तित बनेका छन् ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार विगत दुई सातामै १५० भन्दा बढी घारका मौरी नष्ट भएका छन् । यसबाट करिब २२ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको निमित्त प्रमुख पेशल खतिवडाले जानकारी दिएका छन् ।

मौसममा आएको असामान्य परिवर्तन, बेमौसमी वर्षा तथा मौरीको आहारा अभावका कारण समस्या उत्पन्न भएको हुनसक्ने अनुमान गरिएको भए पनि रोगको ठोस कारण अझै पत्ता लाग्न सकेको छैन । हाल विज्ञसहितको टोलीले प्रभावित क्षेत्रहरूमा स्थलगत अनुगमन गरिरहेको छ भने नमुना संकलन गरी प्रयोगशालामा परीक्षण भइरहेको जनाइएको छ ।

कृषि ज्ञान केन्द्रले किसानहरूलाई मौरीको आहारा अभाव हुन नदिन चिनीको चास्नी (सिरप) खुवाउन सुझाव दिएको छ । साथै रोग फैलिन नदिन मरेका मौरीलाई जलाउने वा गहिरो खाडल खनेर सुरक्षित रूपमा गाड्न निर्देशन दिइएको छ ।

एकाएक मौरी मर्न थालेपछि मौरीपालनमा आश्रित किसानहरू थप चिन्तित बनेका छन् । यसले मह उत्पादनमा गिरावट आउनुका साथै कृषि उत्पादनमा समेत असर पर्ने स्थानीयको भनाइ छ ।