रङ नम्बरको विवादले दाजुभाइ अस्ताए

भिजन समाचार
82
Shares

ललितपुर । एउटा सामान्य फोन कलबाट सुरु भएको विवादले दुई दाजुभाइको ज्यान लिएको छ । ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा भएको छुरा प्रहार घटनामा झापा घर भई ललितपुर बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार सुमितले गलत नम्बरमा फोन गर्दा सञ्जीव नेपालीसँग सम्पर्क भएको थियो । सोही विषयमा फोनमै भनाभन भएपछि दुवै पक्षबीच भेटेरै कुरा गर्ने सहमति बनेको थियो ।

बुधबार दिउँसो करिब ४ बजेतिर पाटन दरबार क्षेत्रमा भेट हुँदा सामान्य विवाद चर्किँदै गएर हिंसात्मक बनेको प्रहरीले जनाएको छ । विवादकै क्रममा सञ्जीव नेपालीले छुरा प्रहार गर्दा दाजुभाइ गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई तत्काल बिएन्डबी अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि प्रहरीले मुख्य आरोपी सञ्जीव नेपालीसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटना घटेको केही मिनेटमै प्रहरीले सक्रियता देखाउँदै आरोपी पक्राउ गर्न सफल भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । सामान्य देखिने विवादले ज्यानै जाने अवस्था आउनुले समाजमा बढ्दो असहिष्णुता र हिंसात्मक प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिएको छ ।