ठमेलमा यौन गतिविधिमा संलग्न २ युगाण्डेली महिला देशनिकाला, १८ जना दूतावासको जिम्मा

भिजन समाचार
64
Shares
सांकेतिक तस्वीर।

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनमा विदेशी नागरिकमाथि कारबाही गरिएको छ । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित फायरचोकबाट युगाण्डाका २० युवतीलाई नियन्त्रणमा लिइएकोमध्ये दुई जनालाई देश निकाला (डिपोर्ट) गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामध्ये हजाराह बाटामुलिसा कलाना र बिट्टी नानबुदुलाई आइतबार डिपोर्ट गरिएको हो । अन्यलाई भने निगरानीमा राखिएको छ ।

प्रहरीका अनुसार उनीहरू २७ देखि ३८ वर्ष उमेर समूहका हुन् र ठमेल, क्षेत्रपाटी, ज्याथा, दरबारमार्ग, स्वयंम्भु र सामाखुशी क्षेत्र आसपास अनैतिक यौन क्रियाकलापमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो । विशेष गरी नाइट क्लबका ग्राहक लक्षित गरी गतिविधि सञ्चालन हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये केहीले यस्ता गतिविधिमा संलग्न नहुने प्रतिबद्धता जनाएकाले उनीहरूलाई निगरानीमै राखिएको प्रहरीले स्पष्ट पारेको छ । सबैलाई अध्यागमन विभागमा बुझाउने क्रममा सम्बन्धित देशको दूतावाससँग समन्वय गरिएको थियो । दूतावासले जिम्मेवारी नलिएका दुई जनालाई डिपोर्ट गरिएको हो ।

घटनापछि राष्ट्रिय मानव अधिकार आयोगले समेत चासो राखेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि १२ दिनको म्याद थप भई मुद्दा चलाइएकोमा जिल्ला अदालतले आइतबार सबैलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रहरीले पर्यटकीय क्षेत्रको सुरक्षा र मर्यादा कायम राख्न यस्ता गतिविधिमाथि निगरानी अझ कडा बनाइने जनाएको छ ।