ओखलढुंगा । १५ वर्षीया एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्लाको सिद्धिचरण नगरपालिका–६ का २३ वर्षीय अनिल मगर र ५९ वर्षीय निमबहादुर मगरलाई ओखलढुंगा जिल्ला अदालतको आदेशले कारागार पठाइएको हो ।
प्रहरीका अनुसार गत फागुन १५ गते उनीहरूले फरक–फरक मिति र समयमा ती बालिकामाथि जबरजस्ती करणी गरेका थिए । घटनापछि फागुन ३० गते प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा पीडित किशोरी गर्भवती समेत रहेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आइतबार अदालतको आदेशअनुसार जबरजस्ती करणी कसुरमा उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया