ओखलढुंगाका तीन जना सहकारी सञ्चालक पक्राउ

भिजन समाचार
7.6k
Shares

काठमाण्डैं । ओखलढुंगा जिल्लाका तीन जना सहित चार जना सहकारी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरूको रकम फिर्ता नगरी ठगी गरेको आरोपमा ललितपुरको सातदोबाटोस्थित गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का सञ्चालकहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ओखलढुंगाको मानेभञ्ज्याङ–३ घर भई काठमाडौं–३१ बस्ने ६१ वर्षीय ईमान सिंह राई, मानेभञ्ज्याङ–१ घर भई ललितपुर–२६ सुनाकोठी बस्ने ५९ वर्षीय कर्णबहादुर राई, मानेभञ्ज्याङ–३ घर भई भक्तपुरको निकोसेरा बस्ने ३९ वर्षीय अबिन कुमार राई रहेका छन् । त्यस्तै चितवनको भरतपुर–२५ घर भई काठमाडौं–६ बौद्ध बस्ने ४२ वर्षीय लालबहादुर क्षेत्री पनि पक्राउ परेका छन् ।

उनीहरूले सहकारीमा बचत गरेका सर्वसाधारणको रकम फिर्ता नगरी ठगी गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । हाल उनीहरूमाथि जिल्ला अदालत ललितपुर बाट चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीले सहकारी ठगीसम्बन्धी थप प्रमाण संकलन तथा पीडितहरूको विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ ।