ओखलढुंगामा वैशाख देखि आर्थिक गणना हुने


ओखलढुंगा । जिल्लामा आगामी वैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुने भएको छ । गणनालाई प्रभावकारी, व्यवस्थित र सफल बनाउन शुक्रबार सरोकारवालाहरूका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा सचेतना गोष्ठी आयोजना गरिएको छ ।

कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी सुवास राईले आर्थिक गणनाको उद्देश्य, महत्व, कार्यक्षेत्र, संरचना तथा कार्यविधिबारे विस्तृत प्रस्तुति दिएका थिए । उनले गणनाको सफलताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गणकलाई सत्य–तथ्य विवरण उपलब्ध गराउन आग्रह गरे ।

उनका अनुसार २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनामा जिल्लाभर ४ हजार ३४६ प्रतिष्ठान सूचीकृत भएका थिए । यसपटकको गणनामा कागजी र अनलाइन दुवै माध्यमबाट तथ्यांक संकलन गरिनेछ । अनलाइन प्रणाली मार्फत वैशाख २ गतेदेखि जेठ मसान्तसम्म र कागजी प्रक्रियामार्फत असार ७ गतेसम्म गणना सञ्चालन गरिने जानकारी दिइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, स्थानीय तहका जनप्रतिनिधि तथा नेपाल पत्रकार महासंघ ओखलढुंगाका उपाध्यक्ष रविन श्रेष्ठ लगायतले गणना कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।

आर्थिक गणना सञ्चालनका लागि सिद्धिचरण नगरपालिका–११ मिलनचोकमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयमा एक आर्थिक गणना अधिकारी, एक सहायक अधिकारी, एक गणक (खरिदार तह), एक लेखापाल र एक कार्यालय सहयोगीसहित पाँच जनाको दरबन्दी रहेको छ ।

जिल्लाभर गणना कार्य सम्पन्न गर्न १४ जना गणक र २ जना सुपरीवेक्षक परिचालन गरिनेछ । साथै, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, पालिका स्तरमा स्थानीय समन्वय समिति र वडा तहमा सहजीकरण समिति गठन गर्ने तयारी गरिएको छ ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चालु आर्थिक वर्षभित्र देशभर दोस्रो पटक आर्थिक गणना सञ्चालन हुन लागेको हो । यसअघि २०७५ साल वैशाखमा पहिलो आर्थिक गणना गरिएको थियो ।

यसपटकको गणनामा आर्थिक क्षेत्रका १८ वटा विधासँग सम्बन्धित आधारभूत विवरण संकलन गरिनेछ । दर्ता भएका तथा नभएका साना–ठूला व्यापार, उद्योग, प्रतिष्ठान तथा स्वरोजगार सहित रोजगारी सम्बन्धी तथ्यांक संकलन गरिने कार्यालयले जनाएको छ ।