ओखलढुंगा । नापी कार्यालय ओखलढुंगाले अनाधिकृत व्यक्तिको प्रवेशमा रोक लगाउँदै सेवाप्रवाहलाई प्रभावकारी, पारदर्शी र गुनासो रहित बनाउने कदम अघि बढाएको छ । नापी विभाग, मिनभवन काठमाडौँको निर्देशन अनुसार जिल्लामा पनि कार्यालयमा विचौलियाहरूको प्रवेश पूर्ण रूपमा निषेध गरिएको हो ।
कार्यालय प्रमुख सविन बि.केका अनुसार, “सेवाग्राहीको काममा अनावश्यक हस्तक्षेप रोक्न, सेवा छिटोछरितो बनाउन र कार्यालयको विश्वसनीयता कायम राख्न यो कदम अत्यावश्यक थियो ।”
अब सेवाग्राहीले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्नेछ । साथै, अनधिकृत व्यक्तिहरूलाई सरकारी अभिलेख तथा कागजातमा पहुँच नदिने व्यवस्था कडाइका साथ लागू गरिएको छ ।
कार्यालयले सेवाग्राहीहरूलाई अनावश्यक भिडभाड नगर्न र आवश्यक प्रक्रिया पूरा गरेर मात्र सेवा लिन आग्रह गरेको छ । सरोकारवालाले यस व्यवस्थाले सेवाप्रवाहमा सुधार आउने र विचौलियामुक्त वातावरण निर्माण हुने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया