ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा लागू औषध नियन्त्रण तथा न्यूनीकरणका लागि सचेतनामूलक अभियान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाको आयोजना तथा सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वयमा एक दिने सचेतनामूलक कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा लागू औषध कारोबारको सम्भाव्य क्षेत्र तथा सिमा नाकाहरूको निरीक्षण र अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत मनोज कुमार मगरले जानकारी दिए ।
उनका अनुसार युवामाझ बढ्दो लागू औषध दुरुपयोग न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय, क्याम्पस तथा युवा क्लबहरूमा लक्षित सचेतनामूलक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा प्रहरी चौकी मानेभञ्ज्याङका प्रहरी नायब निरीक्षक केशवराज मैनालीले लागू औषधको वर्तमान अवस्था, कानुनी प्रावधान तथा नियन्त्रणका उपायबारे प्रस्तुति दिएका थिए ।
त्यसैगरी जनस्वास्थ्य निरीक्षक नवराज बानियाले सर्तिजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असर र त्यसको रोकथामका उपायबारे जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत मनोज कुमार मगर, मानेभन्ञ्याङ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु प्रसाद गौतम, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी,स्थानीय लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
सरोकारवाला निकायबीचको सहकार्यमा सञ्चालन गरिएको यस्तो अभियानले युवामाझ सचेतना अभिवृद्धि भई लागू औषध दुरुपयोग न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया