सुख्खा मौसम सुरु भएसँगै जिल्लामा आगोजन्य विपद्, हावाहुरी तथा चट्याङको जोखिम बढ्न थालेपछि सरोकारवाला निकायले पूर्वतयारीलाई तीव्रता दिएका छन् । यसै सन्दर्भमा ओखलढुंगामा कार्यालय प्रमुखहरूको बैठक बसेर सम्भावित विपद् न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।
बैठकले सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयहरूलाई विपद् जोखिम न्यूनीकरण, उद्धार तथा राहत कार्यका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत–साधन तयारी अवस्थामा राख्न आग्रह गरेको छ । विशेषगरी सुख्खायाममा हुन सक्ने आगलागीका घटनालाई लक्षित गर्दै सचेतना, पूर्वसूचना प्रणाली र द्रुत उद्धार व्यवस्थापनमा जोड दिइएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति लगायत विभिन्न संयन्त्रबाट भएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । साथै चालु आर्थिक वर्ष ०८२/०८३ का योजना तथा कार्यक्रम समयमै सम्पन्न गरी निर्धारित लक्ष्य हासिल गर्न सबै कार्यालय प्रमुखलाई सचेत गराइएको छ ।
चालु आर्थिक वर्षको प्रगति समीक्षा गर्दै बैठकले विपद् व्यवस्थापन, सेवा प्रवाह सुधार र पुँजीगत खर्च वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । माघदेखि चैतसम्मको त्रैमासिक प्रगति विवरण प्रस्तुत गरी त्यसबारे विस्तृत छलफल समेत गरिएको थियो ।
प्रस्तुत खर्च विवरणअनुसार पुँजीगत खर्च अपेक्षाकृत न्यून देखिएकाले आगामी दिनमा त्यसलाई वृद्धि गर्ने गरी आवश्यक पहल गर्न प्रजिअ मंग्रातीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया