लैंगिक हिंसा अन्त्यका लागि दीर्घकालीन व्यवस्थापनमा जोड

भिजन समाचार
142
Shares

जिल्लामा लैंगिक हिंसा अन्त्य तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन दीर्घकालीन योजना र स्रोत व्यवस्थापनमा जोड दिइएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आइतबार सम्पन्न जिल्ला स्तरीय समन्वय बैठकले पाँच वर्षे कार्ययोजना पारित गर्दै संस्थागत तथा दिगो व्यवस्थापनका उपाय अघि बढाउने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा लैंगिक हिंसा सम्बोधन समन्वय समितिका अध्यक्ष टेकराज भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) का लागि आर्थिक वर्ष २०८२/०८३ देखि २०८६/०८७ सम्मको पाँच वर्षे जिल्ला स्तरीय कार्ययोजना अनुमोदन गरेको छ । यसअघि तयार पारिएको मस्यौदामा स्थानीय तहबाट प्रतिक्रिया नआएपछि बैठकमै छलफल गरी योजना पारित गरिएको हो ।

ओसिएमसी सेवा प्रभावकारी बनाउन केस म्यानेजर नियुक्ति सम्बन्धी निर्णय समेत संशोधन गरिएको छ । अब कम्तीमा तीन वर्षको अनुभवसहित पाँचौँ तहको योग्यताप्राप्त जनशक्ति जिल्ला अस्पतालको नेतृत्वमा अस्थायी रूपमा नियुक्त गरिने युएनएफपीए नेपालकी जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिइन् ।

बैठकले लैंगिक हिंसा पीडितका लागि सञ्चालन हुँदै आएको सुरक्षित आवास गृह (सेफ हाउस) को दिगो सञ्चालनका लागि बजेट सुनिश्चित गर्ने निर्णय गरेको छ । सहमति अनुसार सिद्धिचरण नगरपालिकाले २३ प्रतिशत र अन्य सातवटै गाउँपालिकाले ११–११ प्रतिशतका दरले आगामी आर्थिक वर्ष २०८३/०८४ मा बजेट विनियोजन गर्नेछन् । सेफ हाउस सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनबारे थप छलफल गर्न छुट्टै बैठक बस्ने पनि जनाइएको छ ।

यसैगरी, स्थानीय तहको आवश्यकता अनुसार लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक मनोसामाजिक कार्यकर्ता परिचालन गर्ने तथा कोशी प्रदेश सरकारले कटौती गरेको लैंगिक हिंसा निवारण कोष पुनः स्थापना गर्न आग्रह गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिमार्फत प्रदेश सरकारसँग आगामी आर्थिक वर्षमा उक्त कोष नकटाउन अनुरोध गर्ने सहमति समेत गरिएको छ ।

बैठकले सबै स्थानीय तहलाई लैंगिक उत्तरदायी बजेट निर्माणमा प्राथमिकता दिन निर्देशन दिएको छ । परियोजनाले तयार पारेको हातेपुस्तिका सबै पालिकामा उपलब्ध गराइने र आवश्यक कार्यविधि निर्माण गर्न पनि अनुरोध गरिएको छ । साथै, स्थानीय पाठ्यक्रममा लैंगिक हिंसा रोकथाम सम्बन्धी विषय समावेश गर्न सम्बन्धित तहलाई पत्राचार गर्ने निर्णय भएको छ ।

बैठकमा अघिल्ला निर्णयहरूको समीक्षा गर्दै कार्यान्वयनमा कमजोरी भएका विषय पुनः अघि बढाउने सहमति गरिएको थियो । कार्यक्रममा युएनएफपीए नेपालकी जिल्ला संयोजक रेखा श्रेष्ठ र सिएमसी नेपालकी निशा दाहालले परियोजनाका गतिविधि तथा प्रगति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, जिल्ला प्रहरी प्रमुख मदन केसी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख धर्माकान्त चौधरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रोशन श्रेष्ठ, मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राई, सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ, चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा लगायत जनप्रतिनिधि तथा सरोकारवालाले जिल्लामा लैंगिक हिंसा अन्त्यका लागि दीर्घकालीन र समन्वित पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।