ओखलढुंगाको सदरमुकाम नजिकै रहेको गैरीजंगलमा एक युवती मृत फेला परेकी छन् । ओखलढुंगा स्थित सिद्धिचरण नगरपालिका–११ रामबजार नजिकैको गैरीजंगलमा विहिबार अन्दाजी २२ वर्षीया युवती मृत अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार मृतक सिद्धिचरण नगरपालिका–६ जन्तरखानी निवासी कमला मगर रहेको खुलेको छ । उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक ईश्वर अधिकारीले जानकारी दिएका छन् ।
केही समयदेखी प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटना आत्महत्यासँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ । मगर केही समयदेखि रमाईलोडाँडास्थित आफन्तको घरमा बस्दै आएकी थिइन् । मृतकका श्रीमान केही समय अघि वैदेशिक रोजगारीबाट घर फर्किएको पनि खुलेको छ । श्राेतका अनुसार विगत केही समय देखी श्रीमान सँगकाे सम्बन्ध राम्राे नरहेकाे पनि बुझिएकाे छ ।
घटनाको यथार्थ कारण भने अझै खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया