ओखलढुंगामा आर्थिक गणनाको तयारी

भिजन समाचार
82
Shares

ओखलढुंगामा राष्ट्रिय आर्थिक गणनाको तयारी सुरु भएको छ । गणना सञ्चालनका लागि सिद्धिचरण नगरपालिका–११ मिलनचोकमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।

वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने गणनालाई लक्षित गर्दै चैत महिनाभर आवश्यक सम्पूर्ण तयारी गरिने कार्यालयले जनाएको छ । स्थापना गरिएको कार्यालयमा एक आर्थिक गणना अधिकारी, एक सहायक अधिकारी, एक गणक (खरिदार तह), एक लेखापाल र एक कार्यालय सहयोगीसहित पाँच जनाको दरबन्दी रहेको छ ।

जिल्लामा आर्थिक गणना कार्य सम्पन्न गर्न १४ जना गणक र २ जना सुपरीवेक्षक परिचालन गरिने आर्थिक गणना अधिकारी सुवास राईले जानकारी दि ए। गणनालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन गरिनेछ । साथै पालिका तहमा स्थानीय समन्वय समिति र वडा स्तरमा सहजीकरण समिति पनि निर्माण गरिने तयारी छ ।

कार्यालयका अनुसार अनलाइन माध्यमबाट वैशाख २ गतेदेखि जेठ मसान्तसम्म र कागजी प्रक्रियाबाट वैशाख २ गतेदेखि असार ७ गतेसम्म गणना सञ्चालन हुनेछ ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चालु आर्थिक वर्षभित्र देशभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो । यसअघि २०७५ साल वैशाखमा पहिलो पटक आर्थिक गणना गरिएको थियो ।

यसपटकको गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रसँग सम्बन्धित आधारभूत विवरण संकलन गरिनेछ । दर्ता भएका तथा नभएका साना–ठूला व्यापार, उद्योग, प्रतिष्ठान तथा रोजगारीको अवस्था (स्वरोजगारसहित) सम्बन्धी तथ्यांक संकलन गरिने कार्यालयले जनाएको छ ।

आर्थिक गणनाले देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्न सहयोग पुग्ने छ ।