ओखलढुंगाको रुम्जाटार विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा ३९ वटा हवाई उडान भएको छ ।
साउन महिनादेखि फागुन १६ गतेसम्म राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सले उक्त संख्यामा उडान भरेको नागरिक उड्डयन प्राधिकरण रुम्जाटारका प्रमुख धुर्वराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मौसममा खराबी नआएमा हाल रुम्जाटार विमानस्थलमा हप्तामा दुई दिन आइतबार र बुधबार नियमित उडान सञ्चालन हुँदै आएको छ ।
२०७३ सालदेखि नियमित उडान बन्द रहेको रुम्जाटार विमानस्थलमा २०८१ सालको मंसिर महिनाबाट पुनः उडान सुरु गरिएको हो । निवर्तमान सांसद रामहरी खतिवडाको पहलमा विमानस्थलमा फेरि उडान सुरु भएको बताइएको छ ।
रुम्जाटार विमानस्थलबाट २०३१ सालदेखि नेपाल एयरलायन्ससहित निजी एयरलायन्स कम्पनीहरूले नियमित उडान गर्दै आएका थिए । तर २०७३ सालदेखि नियमित उडान बन्द भएको थियो । २०७६ सालमा पुनः उडान सञ्चालन गर्ने पहल भए पनि नियमित रूपमा सञ्चालन हुन सकेको थिएन ।
स्थानीयवासीका अनुसार रुम्जाटार विमानस्थलमा उडान पुनः सुरु भएपछि ओखलढुंगा आउने–जाने यात्रु तथा अत्यावश्यक सेवा प्रवाहमा सहजता भएको छ ।

प्रतिक्रिया