ओखलढुंगामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १७२ जना सुरक्षाकर्मी थपिएका छन् । जिल्लामा चार जना प्रहरी निरीक्षक र एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित उक्त संख्यामा सुरक्षाकर्मी थपिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक विक्रम बहादुर भट्टराईका अनुसार निर्वाचनको मिति नजिकिँदै जाँदा शान्ति–सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन माथिल्लो तहका अधिकृतसहित सुरक्षाकर्मी परिचालन गरिएको हो ।
उनका अनुसार जिल्लाका आठ स्थानीय तहलाई लक्षित गर्दै मोबाइल ड्युटीसमेत खटाइनेछ । थपिएका सुरक्षाकर्मीले मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षा, नियमित गस्ती, संवेदनशील क्षेत्रको निगरानी तथा आकस्मिक अवस्थाको व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्नेछन् ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै तयारी तीव्र पारिएको प्रहरीले जनाएको छ । निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउने तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा संयन्त्र सतर्क अवस्थामा रहेको बताइएको छ ।
यसअघि नै जिल्लाका सबै मतदान स्थलको सुरक्षा मूल्याङ्कन गरी आवश्यक सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाइएको छ । निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा निकायले स्थानीय प्रशासनसँग समन्वय गर्दै काम गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया