निर्वाचन अवधिभर मतदान स्थलमा ड्रोन उडाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले मतदान केन्द्रमा कुनै चुनौती उत्पन्न भए ३० देखि ४५ मिनेटभित्र सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको जानकारी दिए ।
सोमबार जिल्ला निर्वाचन कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा मतदाता शिक्षा तथा निर्वाचन प्रचार–प्रसार सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ मंग्रातीले मतदानअघि, मतदानको दिन र मतदानपश्चात् मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पु¥याउने सम्पूर्ण सुरक्षा रणनीति तयार भइसकेको बताए ।
जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाकी प्रमुख सुनिता अर्यालले जिल्लाका मतदान स्थल, केन्द्र, अस्थायी मतदान केन्द्र, खटाइने कर्मचारी र मतदाता संख्याबारे जानकारी दिइन् । कर्मचारी तालिम तथा व्यवस्थापनसम्बन्धी कार्यतालिकासमेत सार्वजनिक गरिएको थियो ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रोशन श्रेष्ठका अनुसार हालसम्म सात मौखिक उजुरी परेका छन् भने लिखित उजुरी परेको छैन । पत्रकार तथा सञ्चारकर्मीले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिँदै उनले कुनै दल वा उम्मेदवारबाट उपहार वा आर्थिक सहयोग लिन नहुने स्पष्ट पारे ।

प्रतिक्रिया