आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सरकारी सवारी साधन चुनावी प्रचार–प्रसारमा प्रयोग नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
प्रशासनले स्पष्ट पारेअनुसार सरकारी सवारी साधन निर्वाचन प्रचारमा प्रयोग गरेको पाइए कारबाही गरिनेछ । निर्वाचनलाई निष्पक्ष, स्वच्छ र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रोशन श्रेष्ठले निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ३ दफा ५ (ख) मा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार–प्रसारमा संलग्न हुँदा सरकारी सवारी साधन प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको स्मरण गराए ।
त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को बुँदा नं. १८.३.२ (१३) अनुसार सरकारी कार्यालयमा रहेका सवारी साधनहरू दुरुस्त अवस्थामा राखी आवश्यकता अनुसार निर्वाचन प्रयोजनमा प्रयोग गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
सोही व्यवस्था बमोजिम पालिकाहरूमा रहेका सरकारी सवारी साधनहरू चुनावी प्रचार कार्यक्रममा प्रयोग नगरी सुरक्षा परिचालन, मतपेटिका ढुवानी तथा अन्य निर्वाचन प्रयोजनका कार्यका लागि उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनद्वारा जारी सूचनामा फागुन १४ गतेदेखि २१ गतेसम्म निर्वाचन प्रयोजनका लागि आवश्यक सवारी साधन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा नजिकका प्रहरी इकाइहरूमा उपलब्ध गराई सहयोग गर्न आग्रह गरिएको छ ।
निर्वाचनलाई मर्यादित, पारदर्शी र निष्पक्ष बनाउन सबै राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित निकायले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया